वन व्यवस्थापनमा जलुके वन समूह

जाजरकोट । बुढो उमेर भएका सल्लाका रुख काटेर नयाँ रुख रोप्ने योजनाका साथ लहरेखोला जलुके सामुदायिक वन समूह जुटेको छ । जिल्लाको शिवालय गाउँपालिका–१ स्थित लहरेखोला सामुदायिक वनमा अहिले दर्जनौँ सल्लाका रुख काटेर नयाँ बिरुवा रोप्ने अभियान सुरु भएको वडा–१ का अध्यक्ष मानबहादुर पुनले बताए ।

दिगो वन व्यवस्थापन तथा पूर्ण उत्पादन कार्यक्रमअन्तर्गत सो रूख काटिएको उनले बताए । पुराना, बुढा भएका रुख काटेर समूहको आम्दानी गरी नयाँ रुख रोप्ने अभियान सुरु गरिने उनले जानकारी दिए । जंगलमा रुख कुहिएर खेर जाने भएकाले त्यसलाई सहीरूपमा व्यवस्थापन गरी आम्दानीको मुख्य आधार खोजिन लागिएको हो । अहिले रुख काटेर छेडा–मोर्क हुँदै शिवालय कचाली सडकमा राखिएको छ ।

सामुदायिक वनले डिभिजन वनसँग समन्वय गरेर काठ बिक्रीका लागि पहल सुरु हुन लागेको छ । काठ बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेर प्रतिस्पर्धाका आधारमा काठ बिक्री गरिने भएको छ । दिगो वन व्यवस्थापन भन्दै जथाभावी रुख काटेको आरोपसमेत स्थानीयवासीले लगाएका छन् । रुखबाट भएको आम्दानीले सामुदायिक वनकै वृद्धि, विकासका लागि खर्चिने उपभोक्ता समितिका सदस्य रामबहादुर पुनले बताए ।

दिगो विकासको नाममा उपभोक्ता समिति मोटाउने ख्याल नहोस् भनी स्थानीयवासीले खबरदारीसमेत गरिरहेको स्थानीयवासीको भनाइ छ । यहाँका चार सामुदायिक वनमा अघिल्लो वर्षदेखि उक्त कार्यक्रम लागू भएको हो । स्थानीयवासीले रुख मात्र काटेको जानकारी रहे पनि नयाँ रुख कहिले रोपिन्छ भन्ने पत्तो नभएको बताएका छन् ।

दिगो वन व्यवस्थापन गर्नका लागि विभिन्न मापदण्ड लागू गरेर मात्र काम गर्नुपर्नेमा डिभिजन वन कार्यालयको जोड छ । बूढा तथा माउ रुख एकैपटक नकाटी मापदण्ड बनाएर वर्षेनी सङ्ख्या निर्धारण गरी कटान गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया