मन्त्रीको आस्वासनपछि आन्दोलनको स्वरूप फेरियो

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको जुलाघाट नाकामा पक्की पुलको माग गर्दै रिले अनसन सुरु गरेको जुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले एक प्रेस विज्ञप्ती निकालेर आन्दोलनको स्वरूप परिवर्तन गरेको छ ।

सर्घष समिति र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री माया भट्टबीच अनसन स्थगित गरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने मौखिक सहमति भएको थियो । यसै सहमतिअनुसार नै संघर्ष समितिले आन्दोलनको स्वरूप बदलेको हो । संघर्ष समितिले १ महिना ७ दिनपछि अनसनबाट आन्दोलनको स्वरूप बदलेको हो ।

मन्त्री भट्टले केही दिनअगाडि संघर्ष समितिलाई जिल्ला प्रशासन कार्यालय बैतडीमा बोलाएर तीन घण्टा छलफल गरेकी थिइन् । छलफलमा मन्त्री भट्टले पुल निर्माणको लागि केन्द्रैमै गएर छलफल गर्नको लागि आपूm र संघर्ष समिति काठमाडौ जाने बताएकी थिइन् । ‘अनसनको स्वरूप बदलेका हौँ पुल निर्माणको लागि आवश्यक कार्य अगाडि नबढन्जेलसम्म आन्दोलन रोकिँदैन’, जुलाघाट पक्कीपुल संघर्ष समितिका संयोजक नरबहादुर चन्दले भने । समितिले अहिले नै यस्तो किसिमको आन्दोलन भनेर घोषणा गरेको छैन ।

दुई दशकदेखि बैतडीवासीले जुलाघाट नाकामा पक्कीपुल निर्माणका लागि विभिन्न तह र तप्कामा ज्ञापनपत्र दिँदै आएका भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेन । बैतडीको धार्मिक पर्यटन र व्यापारिक क्षेत्रको विकासका लागि पनि पुल निर्माण गर्न आवश्यक भएको स्थानीय बताउँछन् ।

नेकपा सुदूरपश्चिम कमेटीको बैठकमा पनि नेकपाका प्रदेश कमिटी सदस्य र मन्त्री भट्टले पुलको प्रस्ताव राखेका थिए । यो प्रस्तावलाई प्रदेश कमिटीले पनि सार्वजनिक प्रस्तावका रूपमा पास गरेको छ । यसअघि पुलको विषयमा संघीय सांसद दामोदर भण्डारीले पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका थिए । जुलाघाट नाकामा पक्की पुल नभएकै कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुग्दै आएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि गत २२ भदौदेखि अनशन सुरु भएको हो ।

प्रतिक्रिया