महिला टी–ट्वान्टी वरीयतामा नेपालको सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसिसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा रहेको हो । अघिल्लो वरीयतामा पनि नेपाल १५ औं स्थानमै रहेको थियो । नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले आईसिसी विश्वकप एसिया छनोट खेल खेलेपछि अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

सो प्रतियोगितामा नेपाल आयोजक थाइल्यान्डसँग पराजित भएको थियो । थाइल्यान्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो । एसोसियट राष्ट्रको टी–ट्वान्टी वरीयतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि थाइल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।

महिलाको टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा न्युजिल्यान्ड रहेका छन् । यस्तै चौथो स्थानमा वेस्ट इन्डिज र पाँचौं स्थानमा भारत रहेका छन् । एकदिवसीय वरीयतामा भने नेपाल अटाउन सकेको छैन । लामो समयबाट नेपाली महिला टोलीले एकदिवसीय प्रतियोगिता खेलेको छैन ।

आईसिसीले सार्वजनिक गरेको टी–ट्वान्टीको महिला खेलाडीको वरीयतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् । नेपालकी उपकप्तान सिता अलराउन्डरतर्फ ५८ औँ स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८३ औँ स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९० औँ रहेकी छिन् ।

प्रतिक्रिया