विजयादशमीको साटो बडा दसैँ भनौँ

दसैँ छिमेकीको घरमा आउँछ, सँगसँगै आफ्नो घरमा भित्रिइसक्छ । दसैँ छोराछोरीको चंगा भएर आउँछ । नौजवानको उमंग भएर आउँछ । नयाँ लुगा लगाएर बुरुक–बुरुक उफ्रिरहेका नानीहरू देखेर दसैँको रंगले पूर्ण पोतिएको घरको भित्ताले मुसुक्क हाँसिदिन्छ । घरभन्दा टाढा रहेकाहरू दसैँ नै बोेकेर आउँछन् । मीठो–मसिनो खानाले वाक्कै पार्ने गरी दसैँ आउँछ । वर्षभरको थकान मेटाउने चौतारी बनेर दसैँ आउँछ ।

विहेवारीबाट टाढिएकाहरू माइती–मावली फर्कंदा शायद दसैँले थप पूर्णता पाउँदो हो । तिथि–मिति र ऋतुको सुन्दर संयोजन मिलाएको दसैँ साँच्चिकै उल्लास बोकेर आउँछ । दसैँ सबैभन्दा बढी केटाकेटी उमेर समूहमा आउँछ र यो साँस्कृतिक छाप जीवनसँगै बिलाउँछ । यसरी एउटा हिन्दू सांस्कृतिक जीवनले पूर्णता पाउँछ । बहुलजाति, भाषा, धर्म, संस्कार र संस्कृतिलाई नेपाली राष्ट्रियता भनी कानूनतः उल्लेख गरिएको भए पनि दसैँ राष्ट्रिय पर्व नै बनिरहेको छ ।

नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक, जातीय, वैचारिक विविधताले भरिपूर्ण देश हो । त्यसैले पनि दसैँ विशेष आकर्षक र सबैले मनाउने पर्व बनेको छ । दसैँ पर्वलाई हाँसीखुसी र उत्साहका साथ मनाउन हामी प्रयत्नशील बनौँ

दसैँले साझा संस्कृतिको काम गर्ने भएकाले सामाजिक एकतालाई बलियो बनाइदिएको छ । मानवीय अराजकताबाट रोक्न सभ्य संस्कार सिकाउँछ । आफूभन्दा ठूलालाई मान्न अभिप्रेरित गर्दछ । संस्कृति मानवीय सृष्टिको आधार भएकाले दसैँ एउटा बलियो हतियार हो । जसले एउटा राष्ट्रलाई मजबूत बनाउँछ । प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं साँस्कृतिक परम्पराको मर्यादामा राखी परापूर्वकालदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्न पाउने अधिकार संविधानले नै सुरक्षित गरेको छ । नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक, जातीय, वैचारिक विविधताले भरिपूर्ण देश हो । त्यसैले पनि दसैँ विशेष आकर्षक र सबैले मनाउने पर्व बनेको छ । दसैँ पर्वलाई हाँसी–खुसी र उत्साहका साथ मनाउन हामी प्रयत्नशील बनौँ ।

चाडपर्व भनेको संस्कृति हुन् । संस्कृति भनेका मान्छेले स्वीकारेका चलन हुन् । चाडहरूका आ–आफ्नै इतिहास छन्, आ–आफ्ना गौरव छन् । सबैका मूलहरू सङ्ला र स्वच्छ छन् । बढ्दै र फैलिंदै जाँदा विस्तारै तिनमा नयाँ आयाम, नयाँ चलन र नयाँ चल्ती पनि थपिएका र गाँसिएका छन् । थपिएका र गाँसिएका कुराहरू धेरैजसो सुन्दर छन् । चाडको मुख्य स्रोत कर्म (काम) हो । कर्मबाट प्राप्ति निसृत हुन्छ ।

प्राप्तिले खुसी दिन्छ । जय–विजय, प्राप्ति र विश्रान्ति चाडका सुन्दर स्रोत हुन् । दसैँसँग राम र दुर्गाका विजयहरू गाँसिएका छन् । रावण र महिषासुर खराब प्रवृत्तिका प्रतिनिधि हुन् भने राम र दुर्गा असल प्रवृत्तिका प्रतिनिधि हुन् । सीतालाई हरण गरेर रावणले अक्षम्य भूल गरेकै हो । खराब प्रवृत्तिलाई असल प्रवृत्तिले विजय गरेको खुसी भनेकै दशंैको खुसी हो । त्यसैले गर्दा पनि होला, दसैँ केही नोपलीहरूको मात्र पर्व रहेन, यो त राष्ट्रिय चाड नै हो ।

दसैँ मनाउने चलनबारे एउटा कथन छ । एकताका महिषासुर नामक राक्षस थियो । उसको तपस्याबाट बाध्य भएर देवताहरूले उसलाई अजेय हुने वर दिए । वर पाएपछि महिषासुरले नर्कको विस्तार गर्दै स्वर्गको ढोकासम्म पु¥यायो । उसले सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्रमा, याम, वरुणलगायतका देवताहरूको सबै अधिकार खोस्यो । आफैंलाई स्वर्गलोकको मालिक घोषणा ग¥यो । महिषासुरको कृत्यबाट दिक्क र क्रोधित भएका देवताहरूले देवी दुर्गाको रचना गरे । दुर्गाको रचनामा सबै देवताहरूले आफ्नो सबै बल लगाए ।

आ–आफ्ना शस्त्रहरू दुर्गालाई दिए । सबै देवताको प्रयासबाट दुर्गा बलवान भइन् । नौ दिनसम्म देवी र महिषासुरको वीचमा युद्ध भयो । अन्ततः महिषासुरको वध भयो । दुर्गा महिषासुरमर्दिनी बनिन् । यसैको खुसियालीमा दसैँ मनाउने चलन सुरु भयो । असोजको सुक्ल प्रतिपदाका दिनदेखि यो चाड सुरु हुन्छ र पूर्णिमा (कोजाग्रत) सम्म रहन्छ । पहिलो ९ दिनलाई नवरात्रि भनिन्छ । नवरात्रिको अर्थ हो, नौवटा रात्रि । यी नौ दिनसम्म दुर्गाको नौ वटा स्वरूपको क्रमशः आराधना गरिन्छ । दुर्गाको अर्थ हो, जीवनको दुःख हटाउने ।

हाम्रो समाजमा धेरै मेहनत गरेर आफ्नो जीवन यापन गर्न कठिन अवस्था भएको एउटा वर्ग छ, अर्को वर्ग सामान्य आर्थिक अवस्थामा जीवनयापन गरिरहेको छ भने अर्को वर्ग अथाह सम्पत्तिसहित विलासी जीवनयापन पनि गरिरहेको छ । यस्ता तीन वर्गका मानिस एउटै गाउँमा बसोवास गर्दै आएका छन् । यी तीनै वर्गको घरमा एकै दिन आएको दसैँको दृश्यले के देखाउँछ ? एकातिर चाँदीको ठूलो थालीभरी टीका–जमराले सजिएको कोठामा लगाइएको टीका अनि चौरासी व्यञ्जनले सजिएको टेबुलको दृश्य देखिन्छ ।

अर्को सामान्य वर्गमा जमरा–टीकाले सजिएको र विभिन्न परिकारको, तर सामान्य सुख–शयल देखिन्छ भने हुँदा खाने वर्गको परिवारमा बाँसको चित्राले बेरेको भित्तामा अखबारले टालेको तथा नयाँ तन्ना बिच्छ्याएको भूइँमा लामबद्ध लागेर स्टिलको थालीमा टीका, सालको पातले बुनेको टपरीमा राखिएको जमराले सजिएको कोठामा रातो टीका–जमरा देखिन्छ ।

छेउमा चुल्होमा एउटा भाँडामा भात र कराहीमा मासु पाक्छ । ऋण काढेर ल्याएको भए पनि त्यो घरका बालबच्चा एवं घरपरिवारको अनुहारमा देखिने एक दिनको खुसीले साँच्चै भावुक बनाउँछ । एउटा भनाई छ, जत्रो व्यवहार, उत्रै खर्च । प्रोफेसर हेराल्ड के लास्कीको भनाइ छ– ‘छिमेकमा कोही भोकै छ भने तिमीलाई एक्लै रोटी खाने अधिकार छैन ।’ यही भनाइलाई आत्मसात गर्दै यो वर्षको दसैँमा हामी सबैका छिमेकीको घरमा ऋणको दसैँ होइन, खुसीको दसैँ आउन सकोस् ।

हरेक चाडपर्वको आ–आफ्नै महत्व छ । त्यसमध्ये दसैँ सबैभन्दा महान् पर्व हो । दसैँ पर्वले पारिवारिक एवं सामाजिक सद्भाव बढाउनुका साथै सम्बन्धमा थप सामीप्यता ल्याउँछ । पर्वहरूमा खर्च धेरै नगरी आफन्त एवं साथीभाइबीचमा रमाइलो गरेर अथवा आफूलाई मनपर्ने कुनै मनोरञ्जक काम गरेर पनि उल्लासमय बनाउन सकिन्छ । अहिले पर्व मनाउने शैली पनि परिवर्तन हुँदै गएको छ । चाडपर्वलाई बोझ होइन, रमाइलो पर्व बनाउनुपर्छ र त्यो आफ्नै हातमा छ । अब दसंैलाई खर्चिलो चाड नबनाई मेलमिलाप र सद्भावको चाड बनाउनुपर्छ, जसले गर्दा यो खर्चको चाड नभई एउटा उत्सव बनोस् ।

चाडपर्व एउटा संस्कार हो । चाडपर्व हाम्रो जीवन पद्धति पनि हो । नारीको बलमा सत्यको विजय भएको दिन भएकाले दसैँ विजयको खुसीयाली पनि हो । यो मान्यजनप्रति श्रद्धा गर्ने पर्वसमेत हो । टाढा रहेका आफन्तसँग भेटघाट गर्ने अवसर पनि हो । दसैँजस्तो पर्वमा महिलाको स्वास्थ्य र व्यवस्ततातिर पनि हेरिनुपर्दछ भने जीवनशैली र रोगअनुसार खानामा सुधारिनु पर्दछ भन्ने पनि धारणा आएका छन् । मासुका साथ सागपात पनि खानुपर्ने अवस्थातिर पनि ध्यान दिनुपर्दछ ।

विश्वभरका मानिस शाहाकारी बन्न सक्ने अवस्था आउनै सक्दैन भने मांसाहारी भए भने पनि सफल हुनै सक्दैनन् भन्नेतिर पनि ध्यान दिने कि ? खानपानप्रति सचेतता जरुरी छ, जसमा व्यायामलाई पनि निरन्तरता दिइनु पर्दछ भन्ने आवाजलाई पनि नकार्न सकिँदैन । नेवारी खाना, तामाङको परिकार, थकाली भान्सालगायततिर पनि ध्यान दिई दसैँलाई परिमार्जन गरिनु पर्दछ । चाडपर्व वा दसैँमा घरको सरसफाइ वा घर चम्काउने परम्परा पनि देखिन्छ र फेसन तथा अन्य विविधतालाई ख्याल गरिनै पर्दछ ।

दसैँ नेपालको विशेष चाड हो । यसले सबै जातजातिलाई कुनै न कुनै रूपमा छोएको हुन्छ । दसैँलाई विशेषतः धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा लिइन्छ । आश्विन सुक्ल प्रतिपदादेखि नवरात्र सुरु हुन्छ र यसै दिन घटस्थापना गरी जमरा राख्ने गरिन्छ । प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीका विभिन्नरूपमा पूजा–आराधना हुन्छ । शैलपुत्री देवी, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनीको पूजा गर्दै फूलपाती धुमधामसँग भित्र्याइन्छ भने अष्टमीका दिन कालरात्री बली, कुभिण्डोको बली र नवमीका दिन सिद्धिधात्रीको पूजा गरी दशौँ दिन विजया दशमीको दिन देवी विसर्जन गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । तराई–मधेशको दशहरामा भने घर–घरमा कलश र जमरा राखिन्न, कुनै सार्वजनिक स्थलमा सामूहिकरूपमा मूर्ति बनाएर घटस्थापनादेखि विजया दशमीसम्मै धूमधामले पूजा गरिन्छ ।

मधेसी समुदायमा घटस्थापनादेखि फूलपातिसम्म माछा–मासु पूरै बर्जित मानिन्छ । फूलपातिमा खसी–बोकाको बलीपछि मात्र मासु खान सुरु हुन्छ । काठमाडौंमा दसैँमा तुलजा भवानीलाई गरिने पूजालाई कालरात्री पूजा मानिन्छ । दसैँ सबैको घर–घरमा विशेष चाडका अवसरमा मनाइने पर्वमा हाम्रा समस्त पाठक, सुभचिन्तक, विज्ञापनदातामा सुख, शान्ति, समृद्धिसहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । दसैँले सबैको घर–घरमा खुसी भित्र्याउन सकोस्, सबैलाई सुखमय, समृद्धिमय बनाउन सफल बनोस्, हार्दिक शुभकामनासहित सबैको जय होस् ।

प्रतिक्रिया