अग्रजको सम्माननै यसको मुख्य लक्ष्य हो

राजधानीमा मंगलबार रापती समाज नेपालको आयोजनामा ‘सातौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड’ कार्यक्रम हुँदैछ । नेपाली गीत संगीतका क्षेत्रमा योगदान दिएका स्रष्टा तथा व्यक्तित्वलाई प्रदान गर्ने उक्त अवार्डका बारेमा आयोजक संस्थाका अध्यक्ष प्रवीणकुमार रेग्मीसँग सौर्य दैनिकका लागि केशव भट्टले गरेको छोटो कुराकानीः

अवार्ड कार्यक्रमको तयारीका बारेमा बताइदिनुस् न ?
विशुद्ध सांगीतिक क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने लक्ष्य राखेर यो कार्यक्रमको आयोजना गरिएको हो । ०६३ सालका राप्तीका दाङ, रोल्पा, रुकुम, सल्यान साथीहरूमध्येबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको गैरनाफामूलक संस्था भएकाले यसले त्यसयता विविध कार्यक्रम गर्दै आएको छ ।

विगतमा जस्तै अवार्ड कार्यक्रमलाई भव्य र सभ्य बनाउने गरी सम्पूर्ण तयारी पूरा भएको छ । हामीले खासमा एकतालाई जोड दिँदै कार्यक्रम गर्ने लक्ष्य लिएकाले धेरै शुभेच्छुकको साथ र सहयोगले हाम्रो तयारीलाई अझ सहज बनाएको छ ।

यो समाजले के–के गरिरहेको छ ?
बहुआयाममा हात हालेको छ । पहिलो कुरा त एकताको भावनालाई नै समेटेको छ । अहिले पनि १७ वटा देशमा राप्ती समाजको विस्तार भएको छ । ती सम्पर्क समितिका रुपमा क्रियाशील छन् । राप्तीका ५ जिल्लामा समन्वय समितिहरू छन् । सहकार्य राजनीतिक प्रतिष्ठान र राज्यका सम्पूर्ण निकायसँग सहकार्य गरी काम पनि गरिरहेका छौं ।

‘अग्रजलाई सम्मान र अनुजलाई प्रतिष्ठान’ भन्ने मुल नारालाई सार्थक गर्ने हिसाबले देशका लागि उच्च योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्ने काम गरिरहेका छाैँ । अनुजहरूलाई हौसला दिइरहेका छौँ । साथै देश र राप्तीको विकासमा नागरिक प्रहरीझै हिँडिरहने, आपतविपतका वेला सम्पूर्ण क्षेत्रमा गएर सहयोग समेत गर्दै आएका छौँ ।

हामीले राप्ती क्षेत्रको सामाजिक, आर्थिक, राजनीतिक विकाससँगै जनता र सरकारबीच पुलको काम गरिरहेका छौँ । साथै सांस्कृतिक क्षेत्रमा अवार्डका साथै एकल गजल गायन प्रतियोगिता समेत गरेका छौँ ।

यसको सुरुवात कसरी भयो ?
सामाजिक क्षेत्रमा अवार्ड गर्ने कोही थिएनन् । पुराना र नयाँ पुस्तालाई जोडी यस्ता अवार्ड सञ्चालन गरी देशैभर चिनिनका लागि लौन केही गरौँ भन्ने लागि भुपु केही विज्ञ पदाधीकारीलाई लागेपछि यसको स्थापना भएको हो । सुरुमा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ हुँदा स्थापना भएको हो ।

अवार्डको आवश्यकता र औचित्य के छ ?
जुन हाम्रो नारा छ अग्रजलाई सम्मान र अनुजलाई प्रतिष्ठान अगाडिका सिनियर कलाकारले राम्रो गर्नु भो ! उहाँहरूलाई सम्मान हो भने आउने पुस्तालाई अहो ! उहाँहरूको जस्तो लेवलमा पुगे त यस्तो हुँदोरै’छ मिहिनेत गरेर जानुपर्ने रै’छ भन्ने लाग्छ । यसले त राष्ट्रिय स्तरको सम्मान पाइने रहेछ भन्ने चेतनाको विकासका लागि यसको महत्व अझै बढेर गएको छ । पछिल्लो पुस्ताले राम्रो गरेपछि यसरी सम्मान हुनेरहेछ भनेर देख्छन् र समाजप्रति उत्तरदायी बन्छन् भन्ने हाम्रो सोच पनि हो । त्यसले अझ सशक्त भएर लाग्न प्रेरित गर्छ ।

राम्रा कलाकारले अवार्ड पाइएला भन्न कसरी सकिन्छ ?
स्पष्टसँग हामीले जज छुट्टाएका छाँै । भोटिङ छुट्टाइएको र हामीले चाहिँ कार्यसमितिलाई पनि केही अधिकार दिएका छांँै । ६ वटा संस्करणमा कहिँकतै यो समाजको नराम्रो कुरा कतै बाहिर आएको वा सुनिएको छैन । साथीहरू उत्साहका साथ आउनुहुन्छ । पाए खुसी भएर जानु हुन्छ नपाए यो केही कुरामा मिहिनेत नपुगेको रै’छ अर्काे पालामा मिहिनेतका साथ आउँछु भन्ने सोच र हौसलाका साथ जान्छन् । त्यो कुरा यो अवार्डमा पनि कायमै छ । हामीलाई हाम्राले होइन की राम्राले साँच्चिकै दम राख्ने मान्छेले पुरस्कार पाउन र त्यसपछिका पुस्ताका लागि पनि मार्गनिर्देशन बनोस् भन्ने हो ।

पछिल्लो समय अवार्डको महत्व खस्केको जस्तो लाग्दैन ?
सबैलाई एउटैसँग दाँज्न मिल्दैन । एउटा नेताले बिगारे सबैलाई त्यसैमा हाल्न मिल्दैन् । खराब मान्छेले बिगार्दैमा उसैसँग अरुलाई दाँज्नु पनि भएन नि ! तमाम् अवार्ड हुन्छन् होला कोही नाम नखुलेको तर हामीचाहिँ ट्रेडमार्क नै भएका छाँैं । प्राइभेटहरूको फरकै होला आफ्नो पाटो र उद्देश्य होला । त्यो उहाँहरूले नै जान्ने कुरा हो । तर, हाम्रो सवालमा हामी त्यो घानभन्दा फरक हौँ । फरक यस अर्थमा कि साताँै संस्करणसम्म हामीले कुनै पनि संस्करणमा अनावश्यक कुराहरू सुन्न पाएका छैनौँ ।

सातौँ अवार्डको बारे भन्नुपर्दा ?
‘अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन’ भन्न नाराका साथ यो सातौं अवार्ड गरिरहँदा हामीले योग्य र प्रतिभाशाली कलाकार नछुटुन् भन्नेमा सचेत छौं । बजारमा अहिले विभिन्न अवार्ड वितरण गरिन्छ र तिनका विकृतिहरू पनि सुन्नमा आएका छन् । हामीले यसमा सकारात्मक सन्देश दिन खोजेका छौँ । आखिर यो सामाजिक क्षेत्रबाट पनि त हुने रै’छ के यसमा विकृतिहरूले मात्रै स्थान पाउने भन्ने नजरले हेर्न मिल्दैन ।

प्रतिक्रिया