अभिव्यक्तिमा जानु

काठमाडौं । ‘अभिव्यक्ति शृङ्खला’ को १२ औँ संस्करणमा कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत भएकी छन् । नर्थलन्डनको हाइवेकमस्थित मिडल्यान्डमा उक्त कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।

बेलायतको अक्सफोर्ड निवासी लोकप्रिय कवि तथा गीतकार जानुले १४ सेप्टेम्बरमा उक्त शृंखलामा गीत तथा कविता सुनाइन् । दुई भागमा विभाजन गरेर आफ्ना सिर्जना प्रस्तुत गरेकी उनले कार्यव्रmमको सुरुमा सात कविता वाचन गरिन् । उनले दोस्रो खण्डमा एघारओटा गीत सुनाइन् ।

जानुको एउटा लोकप्रिय गीत तारा लक्समले गाएर सुनाएका थिए । उक्त अवसरमा जानुको गीतमा बनेको एउटा गीत एउटा गजलको भिडियोसमेत देखाइएको थियो । जानुको गीत र कविताका बारेमा डा. रूपक श्रेष्ठले समीक्षात्मक भनाइ राखेका थिए । उक्त कार्यक्रममा जानुको पछिल्लो कृति ‘आँसुको लय’ गीतसंग्रहको विमोचन समेत गरिएको थियो ।

ताप्लेजुङ स्थायी घर भएकी कवि तथा गीतकार लिम्बू बेलायतमा साधनारत सक्रिय स्रष्टा हुन् । गीत, कविता, कथा, नियात्रा, मुक्तक र गजल विधामा कलम चलाउँदै आएकी छन् । उनका ‘शिविरमा ईश्वर’ कविताकृति, ‘अनुभव’ र ‘जानु’ गीति एल्बम र ‘नउघ्रेको जून’ कथासङ्ग्रह र ‘आँसुको लय’ गीतसंग्रह प्रकाशित छन् । बाल्यकालदेखि नै साहित्यमा रूचि राख्ने जानुका दर्जनौँ सिर्जनाहरू बेलायत तथा नेपाल आदि देशबाट निस्किने विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । उनका दर्जनौँ गीत चर्चित छन् ।

स्थापनाकालदेखि नै प्रतिभा प्रतिष्ठानले निमियतरूपमा हरेक वर्ष गर्दै आएको ‘अभिव्यक्ति शृंखला’ मा यसअघि चोक गुरूङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा. रूपक श्रेष्ठ र गणेश राई प्रस्तुत भइसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकी अध्यक्ष दिपा लिम्बू राईको अध्यक्षता र डा. रूपक श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा काम्बाङलाई दोसल्ला र ताम्रपत्रद्धारा सम्मानित गरिएको थियो ।

जानुको प्रस्तुति सकिएपछि अन्य स्रष्टाले पनि सिर्जना वाचन गरेका थिए । कवि तथा बाँसुरीवादक सेमन्त राईले मुक्तक र बाँसुरीको धुन प्रस्तुत गरेका थिए भने नानु राना, लाहाङ चेम्जोङ, अमित थेवे, टंक राई लगायतका कविले कविता वाचन गरेका थिए । समारोहमा रिटायर्ड मेजर भवानी पन्धाक, बेलायत भ्रमणमा रहेका ‘मेरो अनलाइन टिभी’ का निर्देशक विश्वराज सामेखाम, ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल, अक्सफोर्ड नेपाली समाजका अध्यक्ष पुष्पा राई, याक्थुम माङगेना चुम्लुङ युकेका अध्यक्ष कमला लिम्बू, लिङदेन समाज युकेका अध्यक्ष कृष्ण लिङदेन, किराँत राई यायोक्खा युकेका उपाध्यक्ष प्रेम राई, किराँत राई कलाकार संघ, युकेका उपाध्यक्ष निर्मला मादेन, लिम्बूवान नागरिक समाज युकेका महासचिव लाहाङ चेम्जोङ र गायक तारा लक्सम, बिसी राईका साथै गायिका पुष्पा राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका सचिव नरेश नाति र सहसचिव अञ्जु अञ्जलीले क्रमशः पहिलो तथा दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष गणेश राईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । चोक गुरुङले कार्यक्रम आयोजनासम्बन्धी व्यवस्थापकीय जानकारी गराएका थिए ।

प्रतिक्रिया