दानापुर तालको गुरुयोजना सार्वजनिक

बुटवल । सैनामैना रूपन्देही जिल्लाको पर्यटकीय तथा सीमसार क्षेत्रमा सूचीकृत दानापुर तालको विकासका लागि १० वर्षे विस्तृत गुरुयोजना सार्वजनिक भएको छ ।

समयमायी सामुदायिक वन उपभोक्ता समूह, कञ्चन–१, गजेडी र जयन्द्र एन्ड पार्टनर प्रालिको सहकार्यमा तयार गरिएको दानापुर तालको विस्तृत गुरुयोजना रुपन्देही–५ प्रदेशका सांसद भूमिश्वर ढकाल, सञ्चारकर्मीहरू र स्थानीय उपभोक्ताहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको सो गुरुयोजनामा दानापुर तालको पर्यटकीय आकर्षणलाई सौन्दर्य बनाउन दानापुर तालमा प्रवेश गर्ने मुख्य प्रवेशद्वारसँगै स–साना चमेना तथा चिया पसलको निर्माण गरिनेछ भने तालको बीचमा आइसल्यान्ड जलभूमि निर्माण गरी ५३ मिटरको उचाइबाट दृश्यावलोकन गर्न मिल्ने गरी ६० मिटर उचाइको दृश्यावलोकन टावर बनाइनेछ ।

अब दानापुर तालमा गुरुयोजना विपरीत कसैले पनि भौतिक संरचना निर्माण गर्न पाइने छैन । यसैगरी सो गुरुयोजनामा तालको वरिपरि हरियाली वातावरणलाई यथावत् राख्न वृक्षरोपण पनि गरिनेछ भने प्रर्यटक तथा स्थानीयहरूका लागि मर्निङवाक तथा जगिङ गर्न मिल्नेगरी तालको वरिपरि पक्की पिचसमेत निर्माण हुनेछ ।

तालसहित ९२ दशमलव शून्य २ हेक्टर क्षेत्रफलमा फैलिएको समयमायी सामुदायिक वन उपभोक्ता समूहको उक्त गुरुयोजनाअनुसार दानापुर तालको भौतिक संरचना निर्माण गर्न करिब ४८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसैगरी दानापुर तालको सौन्दर्यता र आन्तरिक तथा बाह्य प्रर्यटकहरूको आकर्षण बढाइ स्थानीयहरूको आयआर्जनलाई वृद्धि गर्न स्थानीयहरूकै लगानीमा ताल नजिकका बस्तीहरूमा होम–स्टे सञ्चालन पनि गरिने गुरुयोजनामा राखिएको छ ।

तालको १० वर्षे गुरुयोजनाको सार्वजनिक गर्दै रुपन्देही–५ प्रदेश (क) का सांसद भूमिश्वर ढकालले कुनै पनि कार्यहरू गर्दा निश्चित कार्ययोजना तयार गर्नसके सहज हुने बताउँदै बाह्य प्रर्यटकहरूभन्दा आन्तरिक प्रर्यटकहरूको आगमनलाई प्रथमिकता दिनसके दानापुर तालको गरिमा अझ वृद्धि हुने बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, रूपन्देही जिल्ला समितिका अध्यक्ष दीननाथ आचार्यले दानापुर तालको पर्यटकीय विकासले कञ्चनको गरिमा बढाएको र पहिचान पनि दिएको बताएका थिए । समयमायी सामुदायिक वन उपभोक्ता समूह कञ्चन–१, गजेडीको आयोजनामा भएको कार्यक्रममा समूहका अध्यक्ष मीनबहादुर थापा, बरिष्ठ उपाध्यक्ष राजेन्द्र घर्तीमगर, सुरज थापामगर लगायतले बोलेका थिए ।

प्रतिक्रिया