भैरबी आधारभूत विद्यालयको आफ्नै पक्की भवन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित भैरबी आधारभूत विद्यालयको आफ्नै चारकोठे पक्की भवन निर्माण भएको छ । ६९ लाख ६९ हजार लागतमा सामुदायिक विद्यालयको भवन निर्माण भएको विद्यालयले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ शिक्षाको आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण भएको हो । गत माघमा विद्यालयको भवन निर्माण शुरू भएको थियो । करिब सात महिनामा विद्यालय भनव निर्माण सम्पन्न भएको थियो ।

आज भवनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले भैरबी आधारभूत विद्यालयमा विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने गरी शैक्षिक गुणस्तर कायम गरिने बताए । उनले भने, ‘अहिले ठूला निजी विद्यालमा विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्छ अब सामुदायिक विद्यालयमै विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने गरी शैक्षिक र भौतिक गुणस्त्तर कायम गरिनेछ ।” पहिलाको तुलनामा अहिले धेरै गुणाले विद्यालयको शैक्षिक गुणस्तर कायम भएको स्मरण गर्दै उनले भैरबी आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाइने बताए ।

प्रदेश सांसद शशीजङ्ग थापाले विद्यालयलाई नमूना बनाउने काममा आफ्नो तर्फबाट सबै साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले कतिपय अभिभावकले विद्यालयको भलो चिताए पनि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना भने नगर्ने प्रवृत्ति यथावत रहेको बताए । उनले आगामी शैक्षिक सत्रमा सबै अभिभावकलाई ढुक्क भएर भैरबी आधारभूत विद्यालयमा विद्यार्थी भर्ना गर्न समेत आग्रह गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सरीता कुँवर, सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, र विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले विद्यालयलाई नमूना बनाउने गरी सबै सरोकारवालाले काम गर्नुपर्नेमा जोड दिईन । २०३६ सालमा स्थापना भएको भैरबी आधारभूत विद्यालयमा अहिले प्लेग्रुपदेखि कक्षा ५ सम्म पठानपाठन हुँदै आएका छ । विद्यालयमा अहिले कुल १४० जना विद्यार्थी रहेका छन । प्लेग्रुुपदेखि कक्षा ३ सम्ममा अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया