याम र सुनिताको ‘वास्तै नगर्नी’ सार्वजनिक

काठमाडौँ । गायिका सुनिता दुलाल र याम छेत्रीकाे लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को भिडियो सार्वजनिक भएको छ । कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको संगीत रहेको उक्त गीतमा गायिका दुलाल र गायक छेत्रीको युगल आवाज रहेको छ भने बसन्त थापा, बिक्रम परियार, सरिता कार्की र सिता श्रेष्ठले पनि ग्रुपमा गीत गाएर साथ दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । उक्त भिडियोमा दिक्पल कार्की र नम्रता सापकोटाको अभिनय रहेको छ । गायिका सुनिता दुलालकै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

लामो समयको अन्तरालपछि गायक याम छेत्रीसँग सहकार्य गरेर गीत बजारमा ल्याएको गायिका दुलालले जानकारी दिइन् । माया प्रेमका भौगोलिक परिवेशलाई ओगटेर यस गीतले मौलिक लोक संस्कृतिको संरक्षण गरेको उनले दाबी गरिन् ।

प्राय: तीज गीतमा बढी आकर्षित भएर गीत बजारमा ल्याउँदै लोकप्रिय बनेकी गायिका दुलालले यस लोकदोहोरी गीतले नया परिचय बनाउनेसमेत बताइन् । ‘मेरो धेरै तीज गीतले उचाइमा पुर्याएर विभिन्न राष्ट्रिय अवार्डहरु पनि पाएकी छु, त्यस्तै गीतले जस्तै यस मौलिक गीतले पनि अझै उचाइमा पुर्याउँछ’, उनले भनिन् । गायिका दुलाल अहिले चल्दै गरेको रियालिटी शो नेपाल लोक स्टारको निर्णायकसमेत हुन् ।

प्रतिक्रिया