शुक्रबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ ।  सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा हुने च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसिया बाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् ।

अधिकांश राष्ट्रबाट राष्ट्रिय खेलाडी सहभागी हुने भएकाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका नेपालका राष्ट्रिय खेलाडीले पनि प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए । उनका अनुसार विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको क्याडेट, जुनियर र सिनियर विधामा प्रतिस्पर्धा हुनेछ ।

क्याडेटको पुरुष तथा महिलातर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलामा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै सिनियरको महिला र पुरुषमा आठ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी महिला पुरुषको व्यक्तिगत, जोडी र टिम स्पर्धाको १२ वर्षदेखि ४० वर्षसम्मका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

ऋाफ्नै देशमा आयोजना हुन लागेको १३औँ सागको तयारीमा रहेका खेलाडीले समेत अन्तर्राष्ट्रिय एक्सपोजर पाउने र नेपाल सरकारको बहुप्रतिक्षित नेपाल भ्रमणको प्रचारप्रसारमा पनि टेवा पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया