शान्ति र सद्भावको पर्व मोहर्रमको बिदाइ

बाँके । मोहर्रमको मंगलबार अन्तिम दिन, तराईका विभिन्न जिल्लासहित नेपालगञ्जमा समेत ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिएको छ । मुस्लिम समुदायको बाक्लो बसोवास रहेको बाँकेमा करोड बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा घर नजिकै रहेका कर्बलाहरूमा विर्सजन गरेर मनाउने गर्छन् ।

बाँकेमा भने मोहर्रममा केही फरक दृष्यहरू देख्न पाइन्छ । मुस्लिम समुदायको यस पर्वमा हिन्दूहरू पनि सहभागी हुन्छन् । हिन्दू समुदायमा पनि ताजिया राख्ने चलनको सुरुआत हुन थालेको बताउँछन्, शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठ । उनले एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहेको बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले नेपालगञ्ज सद्भावको सहर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताए । उनले भने, ‘नेपालगञ्ज हिन्दू, मुस्लिम, शिख, इसाई लगायतका समुदाय एकअर्काका धर्म, संस्कृति र परम्परासँग जोडिन्छन्, सबैको आस्था सबै धर्मसँग जोडिएको सहर नेपालगञ्ज नै हो ।’

मुस्लिम समुदायहरूले बाजागाजासहित नेपालगञ्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जन गरेका छन् । यसमा हिन्दू समुदायका व्यक्तिहरूको उत्तिकै साथ रहेको छ । मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरूले शुभकामनासमेत आदाप्रदान गरिरहेका छन् ।

शान्ति सद्भाव समिति बाँकेका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज नेपालकै मिश्रित समुदायको बसोवास रहेको सहर भएकै कारण यहाँ सबै धर्मप्रति सबैको आस्था र सम्मान कायम रहेको बताए । ‘एउटा धर्मको व्यक्तिले अर्को धर्मप्रति आस्था राख्नु एकअर्काप्रतिको उच्च सम्मान र आदर हो । यो नेपालगञ्जमा सदियौंदेखि चलिरहेको छ,’ नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका वैश्यले बताए ।

मुस्लिम समुदायका अगुवा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले मंगलवार बिहानैदेखि ताजिया विसर्जनको तयारी गरेर बेलुका आफूलाई पायक पर्ने कर्वलामा लगेर विसर्जन गरेको बताए । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्नाले भने, ‘मंगलबार बिहानैदेखि हिन्दू समुदायका साथीहरूले फोन, एसएमएसमार्फत शुभकामनासमेत दिएका छन् । यसले नेपालगञ्जमा रहेको धार्मिक एकता र सन्देशलाई प्रवाह गरिरहेको छ । यहाँ सबै धर्म र समुदायका चाडपर्वमा सबैको बलियो आस्था रहन्छ ।’

इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४१ को १०औँ तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १०औँ दिन विशेष महत्वको हुने गर्दछ । इराकको कर्वला सहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य सहिद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन छ ।

नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले आआफ्नो घरअगाडि ताजिया राखेर रातभरि जागरण बसेर ताजियादारी गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ । ताजिया विसर्जन भएको दुई दिनपछि हुने विशेष फातियामा गरिब तथा विपन्न समुदायका व्यक्तिहरूलाई खाना पकाएर खुवाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया