प्रकृतिक नक्साले तान्यो मानिसको ध्यान

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–६ सेराको माथिपट्टिको ठूलो चट्टानमा नेपालको नक्साजस्तै आकृति देख्न पाइन्छ । माथिबाट सडक निर्माण हुँदा गएको माटो र ढुंगाले उक्त नक्सा छेकिए पनि मानिसको ध्यान भने तानिरहेको छ । हरियाली वातावरणमा प्राकृतिक रूपमा चट्टानमा बनेको नेपालको नक्सा देख्दा पैदल यात्रु होस्, या सवारी साधनमा यात्रा गर्ने जो कोही एकचोटी नरोकी जान मान्दैनन् । सम्झनाका लागि फोटोसमेत खिच्ने गर्दछन् ।

पर्यटकलाई भित्र्याउन सफल मध्य तथा सुदूरपश्चिममा लुकेका तर कसैले नभेटाएका पर्यटकीयस्थलहरू धेरै छन् । एसियाकै सबैभन्दा अग्लो पचालझरना, तिलागुफा, बडिमालिका, चुलिमालिका, साँघुमेला, तिलाकर्णाली दोभान, युद्ध पर्यटीकय क्षेत्र पिली, भर्ताको लेकमा रहेको काइनेट खानी, महावु लेकजस्ता पर्यटयीकस्थल हेर्न आउनेहरूको संख्यामा भने दिनप्रतिदिन वृद्धि हुँदै छ ।

स्वर्गकी अप्सरा भनेर चिनिने राराताल जाँदा बाटोमै पर्ने प्राकृतिक सम्पत्ति नेपालको नक्सा पनि हेर्न आउनेहरूको ताँतीे लाग्ने गरेको स्थानीयले बताएका छन् । चट्टानमा देखिने नेपालको नक्सा र पछाडि पट्टि देखिने खाली ठाउँ भारत र चीन रहेको स्थानीय वृद्धवृद्धाहरूले बताउने गरेका छन् । यो नक्सामा थुप्रिएको माटो र ढुंगालाई पन्छाउँदै अब नगरपालिकाले रङरोगन गरेर अगाडि बढ्ने प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले बताए । यसका लागि नगरपालिकाले आव ०७६-०७७ मा पाँच लाख रकम विनियोजन गरेको खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले बताइन् ।

खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले यसको प्रचार सँगै यहाँ पर्यटकहरूको घुइँचो लाने बताए । उनले भने, ‘कालीकोटलाई नेपालको नक्सा रहेको ठाउँ भनेर अब सिंगो नेपालले चिन्छ । पचालझरना, राराताल हेर्न आउनेहरू अवस्य पनि नेपालको नक्सा हेरेर जानेछन् ।’ करिव ६ सय मिटर लम्बाई र तीन सय मिटर चौडाइमा रहेर बनेको नेपालको नक्सा अबको केही दिनमा काम सुरु गरी तत्कालै नगरपालिकाले पर्यटयीक क्षेत्र घोषण गर्ने भएको छ ।

प्रतिक्रिया