घरबेटीलाई ठेक्का

काठमाडौं । विवादास्पद निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका शारदाप्रसाद अधिकारीको सो कम्पनी हो ।

कम्पनीले बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्यांकी निर्माणको ठेक्का पाएको छ । अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयका अनुसार सो कम्पनीसँग एक अर्ब ४१ करोड ६९ लाख २२ हजार सात सय ६० रुपैयाँको ठेक्का सम्झौता गरेको छ ।

सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी मिलनकुमार शाक्यले बताए । नियमअनुसार सबैभन्दा कम कबोल गर्नेलाई ठेक्का दिनुपर्ने प्रावधान रहेको छ । सो कम्पनी यसअघि पनि विभिन्न आयोजना वर्षांैसम्म पूरा नगरेर बदनाम रहँदै आएको थियो ।

३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग चार महिनाअघि निर्देशनालयले सम्झौता गरेको छ । शाक्यका अनुसार शैलुङले पाइपलाइन विस्तारको काम अघि बढाइसकेको छ । सो कम्पनीले त्रिपुरेश्वर–कलंकी–नागढुंगा, भक्तपुर–नगरकोट सडक निर्धारित समय नाघेको वर्षौं पुगिसक्दा पनि पूरा हुन सकेको छैन ।

प्रतिक्रिया