स्पेन र इटाली विजयी

एजेन्सी, पेरिस । स्पेन र इटालीले आइतबार जित निकाल्दा सन् २०२० को युरोको छनोटनजिक पुगेका छन् । स्पेनले फारो आइल्यान्ड र इटालीले फिनल्यान्डमाथि सफलता हात पार्दै अर्को वर्ष हुने युरो कप खेल्ने अवसर बलियो बनाएका हुन् । गिजोनमा भएको खेलमा रोड्रिगो र पाको अल्कासेरले समान दुई गोल गरेपछि स्पेनले फारोमाथि ४–० को सफलता निकाल्यो । उक्त खेलमा कप्तान सर्जियो रामोसले इकर कासिलाससँगै राष्ट्रिय टोलीबाट १ सय ६७ खेलको रेकर्ड बराबरी गरेका थिए ।

जितसँगै स्पेनले ६ टोली रहेको समूह ‘एफ’ मा छैटौँ जित निकालेको छ । कुल १८ अंक बनाएको स्पेनले दोस्रो स्थानको स्विडेनसँग ७ अंकको अग्रता बनाएको छ । स्विडेन पनि आइतबार नर्वेसँग १–१ को बराबरीमा रोकिएको थियो । एक समूहबाट दुई टोली छनोट हुनेछन् । एक अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको रोमानियाले माल्टामाथि १–० ले जित निकाल्यो । खेलको १३औँ मिनेटमै रोड्रिगोले अफ साइड ट्य्राप बिट गर्दै गोल गरेका थिए । त्यो गोलबाट स्पेनले पहिलो हाफमा १–० ले अग्रता लियो ।

तर, दोस्रो हाफमा स्पेनको आक्रामक रणनीतिसामु फारोले तीन गोल बेहो¥यो । खेलको ५०औँ मिनेटमा रोड्रिगोले नै गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी दुई गोल भने खेलको अन्तिम समयतिर भएको थियो । ८९औँ मिनेटमा अल्कासेरले गोल गर्दै स्पेनलाई फराकिलो जिततर्पm अग्रसर गराए । इन्जुरी समयमा उनले नै अर्को गोल थप्दै स्पेनलाई ४–० को सफलता दिलाए ।

इटालीले पनि शतप्रतिशत सुखद नतिजालाई जारी राख्दा फिनल्यान्डमाथि २–१ को जित निकाल्यो । त्यससँगै समूह ‘जे’ को इटालीले ६ खेलबाट १८ अंक बटुल्दै दोस्रो स्थानको फिनल्यान्डसँग ६ अंकको अग्रता बनाएको छ । इटालीको सुखद नतिजा जारी राख्न चेल्सीका मिडफिल्डर जर्जिन्होको पेनाल्टी अवसर सदुपयोग गरे । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ५९औँ मिनेटमा सिरो इमोबिलले गोल गर्दै इटालीलाई अग्रता दिलाए । तर, ७२औँ मिनेटमा फिनल्यान्ड पेनाल्टी अवसर सदुपयोग गर्दै खेलमा फर्कियो । नर्विच सिटीका स्ट्राइकर टिमु पुकीले पेनाल्टीमा गोल गर्दै फिनल्यान्डलाई १–१ को बराबरीमा पु¥याए । तर, खेलको ७९औँ मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गरेपछि इटालीले २–१ को जित निकाल्यो ।

यो सफलतासँगै चार पटकको विश्वविजेता इटाली पछिल्ला समयमा लयमा फर्किएको अनुमान गरिएको छ । सोही समूहमा तेस्रो स्थानमा रहेको आर्मेनियाले आइतबार बोस्निया एन्ड हर्जगोभिनामाथि ४–२ को जित निकाल्यो । समूह ‘डी’ को स्विट्जरल्यान्डले जिब्राल्टरलाई ४–० ले हरायो ।

प्रतिक्रिया