युएस ओपनमा बियान्स च्याम्पियन

एजेन्सी, वासिंगटन । क्यानडाकी बियान्सा एन्ड्रिस्क्युले युएस ओपन टेनिसको नयाँ च्याम्पियन बनेकी छन् । २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सलाई हराउँदै बियान्साले उपाधि जितेकी छिन् । बियान्साले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा विश्व नम्बर आठ ३७ वर्षीया सेरेनालाई पाखा लगाइन् । २४ पटक ग्राण्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना १९ वर्षीया बियन्सासँग ६–३ र ७–५ को सेटमा पराजित भइन् ।

१५औँ वरीयताकी क्यानेडियन बियन्साले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भएकी हुन् । बियन्सा एन्ड्रिस्क्युलाई यस्तो हुन्छ भन्ने थाहा थियो, किनभने उनलाई सेरेना विलियम्सको बारेमा राम्रोसँग जानकार थिइन् । एन्ड्रिस्क्यु सेरेनालाई हेर्थिन र उनको जस्तै सफलता चुमेको सपना देख्ने गर्थिन् ।

एन्ड्रिस्क्युलाई विलियम्स चुप बस्दिनन् र उनलाई हराउन कठिन छ भन्ने पनि थाहा थियो । एन्ड्रिस्क्युलाई शनिबार कोर्टमा उत्रँदा यस्तो प्रदर्शन र ठूला सटको आवश्यकता थियो । जुन विलियम्सले आजसम्म हात पारेको सफलतामा गर्दै आएकी थिइन् । क्यानडाकी १९ वर्षे एन्ड्रिस्क्युले शनिबार युएस ओपनको विलियम्म्सलाई ६–३,७–५ ले निराश पार्दै पहिलो ग्रान्डस्लाम जितिन् । त्यसको ठिक विपरीत विलियम्स भने २४औँ ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्नबाट पुनः एक पटक निराश भइन् ।

‘म यो दाबी गर्न सक्छु । सेरेना विलियम्सलाई प्रेरणाको रूपमा हेर्ने म मात्र एक खेलाडी होइन । उनी मजस्ता थुप्रै युवा खेलाडीको मार्गदर्शन हुन् । उनी वास्तवमै च्याम्पियन हुन् र दयालु पनि । उनी लकर रूपमा आइन् र मलाई केही सुझाव दिइन् जुन मेरा लागि निकै फलदायी बन्नेछ,’ एन्ड्रिस्क्युले ३७ वर्षीया विलियम्सको बारेमा भनिन्, ‘मैले विलियम्सजस्तै बन्न व्यग्र प्रतिक्षा गरेकी छु । कसलाई थाहा छ ? सम्भवत्, म उनीभन्दा अझै राम्रो खेलाडी बन्न सक्छु ।’

सन् १९६८ बाट सुरु भएको युएस ओपन इतिहासमा एन्ड्रिस्क्यु डेब्यु प्रतियोगितामै विजेता बन्ने पहिलो महिला खेलाडी हुन् । उनी गत वर्ष भने युएस ओपनको छनोटमा पहिलो चरणबाटै निराश भएकी थिइन् । उनी मोनिका सिलेसपछि चौथो ग्रान्डस्लाम सहभागितामै उपाधि चुम्ने पहिलो खेलाडी हुन् । ग्रान्डस्लामको एकलमा उपाधि जित्ने उनी पहिलो क्यानेडियन खेलाडीसमेत बनिन् ।

विलियम्स भने युएस ओपनको फाइनलमा निराश भएको यो लगातार दोस्रो पटक हो । गत वर्ष विलियम्स जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन् । यसक्रममा विलियम्स चियर अम्पायरसँग विवादमा समेत उत्रिएकी थिइन् । विलियम्सले २३ ग्रान्डस्लाम जितेकी छन् । मार्गरेट कोर्टको नाममा सर्वाधिक २४औँ ग्रान्डस्लामको कीर्तिमान छ ।

 

‘म कीर्तिमान मात्र पछ्याइरहेकी छैन । म ग्रान्डस्लाम मात्र जित्न चाहान्छु । हारपछिको स्थिति निराश हुन्छ भन्ने सबैलाई थाहा छ,’विलियम्सले भनिन् ‘मैले आज स्वभाविक लयको प्रदर्शन गर्न सकिन । अहिले मैले भन्न सक्ने यही हो ।’ यसपटक सेरेना सातौँ पटक युएस ओपनको ग्रान्डस्लाम जित्ने लक्ष्य पूरा सकेन ।

प्रतिक्रिया