सन्तुलन गुमाउँदै नेपाली पत्रकारिता

वीरेन्द्र रावल

पत्रकारिता आफैँमा व्यवसाय अवश्य पनि होइन । पत्रकारिताभित्रको समग्र अवस्थालाई बुझ्ने हो भने लगानीकर्ता, पाठक, र कुनै पनि सञ्चारमाध्यममा कार्यरत समाचारदाता देखि लिएर सम्पादकतहसम्मको कार्य विभाजन हुने गर्दछ । कुनै पनि सञ्चार माध्यमले आफ्नो सेवा विस्तारका लागि आवश्यक पर्ने पूर्वाधारदेखि लिएर मानव स्रोत र साधनहरू समाविष्ट गरेको हुन्छ ।

पत्रकारिता पेसा आफँैमा सेवामा आधारित हुने भए पनि कुनै पनि सञ्चार माध्यममा लगानी गर्ने लगानीकर्ता (सञ्चालक वा प्रकाशक) ले आफ्नो सञ्चारगृह वा माध्यममा मानव स्रोत र साधन परिचालन गरेको हुन्छ, त्यसो गरेपछि स्वभाविक रूपले त्यसलाई व्यवसायमा बदल्ने गरेको हुन्छ । प्रकाशक वा लगानीकर्ताले बजार विस्तारका विभिन्न स्वरूपहरूमार्फत आम्दानीका बाटाहरू अपनाउने गर्दछ । त्यसो गर्नु लगानीकर्ताको व्यवसायिक धर्म पनि हो ।

कतिपय पाठकको बुझाइमा कुनै पनि सञ्चारमाध्यममा काम गर्ने कर्मचारीहरूको वर्गीकरण, काम कर्तव्य र दायित्व अनि कार्यक्षेत्र के हो भनेर राम्ररी जानकारी राखेको पाइँदैन । त्यसकारण पत्रकारिताभित्रको व्यावसायिकता र सञ्चार वकालतका विषयमा कतिपय मानिहरूमा भ्रम पनि पैदा भएको हुन्छ । मालिक वा सम्पादकको आदेशमा कुनै एकजना समाचारदाताले एउटा कुनै विशेष बिटमा आधारित भएर समाचार संकलन गरेर ल्याउँछ र भोली उक्त समाचार ती समाचारदाताको बाईलाइनमा प्रकाशित हुन्छ । सामान्यतया जुन व्यक्ति, समुदाय वा समूहका बारेमा लेखिएको हुन्छ ती व्यक्तिले समाचार संकलन गरेर ल्याउने वा रिपोर्ट प्रकाशित गर्ने पत्रकारमाथि एक प्रकारको वैरभावको अवस्था सिर्जना हुने गरेको पाइन्छ । नेपालमा पछिल्लो समयमा पत्रकारितामा देखा परेका विभिन्न समस्याहरू यस्तै प्रवृत्ति र प्रकारका रहेका छन् ।

कतिपय मानिसहरूले बुझेको पत्रकारिता आमरूपमा एकैनासको अवश्य पनि छैन । कुनै सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीले समाचार संकलन गरेर ल्याएर सम्पादक वा प्रकाशकका सामु जाहेर गर्दाका बखत समाचारका सबै असर, क्षेत्र र भावीअवस्थाको बारेमा पूर्वानुमान सहजै लगाउन सकिन्छ । त्यसका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका बारेमा समाचार सम्पादकलाई पूर्णतया जानकारी स्वभाविक रूपले हुनु पनि पर्दछ ।

समाचार बाहिर आइसकेपछि त्यसले सकारात्मक परिवर्तन के कति परिणाममा गराउन सक्छ वा भयो भन्ने बारेमा पनि सम्पादकले बलियो रूपमा बुझेको हुन्छ । समाचार बाहिर आइसकेपछिको अवस्थामा पीडक वा सम्बन्धित पक्षबाट व्यापक रूपले प्रतिक्रया आउने गरेको देखिन्छ । त्यसको अशर कुनै पनि सञ्चालक वा प्रकाशक नभएर सोझा साझा समाचारदाताले भोगिरेको देखिन्छ । सञ्चारमाध्यममा कार्यरत समाचारदाता जसले बाइलाइन समाचार प्रकाशित गरेको हुन्छ त्यहि व्यक्ति आज विभिन्न समूहको कुटाइ–पिटाइदेखि लिएर अनाहकमै हिंसाको सिकार भएको देखिन्छ ।

कतिपय सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरूले लामो समयदेखि एउटै तलबमा बस्नुपरेको हुन्छ भने चरम आर्थिक शोषणमा परेको पनि देखिन्छ । जसकाकारण ती सञ्चार माध्यमहरूमा कार्यरत पत्रकारदेखि लिएर अन्य कर्मचारीहरूले कतिपय अवस्थामा आफ्नो पेसाबाटसमेत हात धुनुपर्ने अवस्था सिर्जना भएको देख्न सकिन्छ । नेपालमा पछिल्लो समयमा आमपत्रकारहरू श्रमजीवि पत्रकार ऐनलाई लागू गरेर अघि बढ्ने अवस्थामा अवश्य पनि देखिँदैन । त्यही भएर कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकार र मालिकका बिचमा सम्बन्ध कमजोर बन्दै गएको समेत देख्न सकिन्छ । त्यसपछिका दिनहरूमा सञ्चार माध्यम परिवर्तन गर्ने र रूपैयाँ कमाउने ध्याउन्नमा कतिपय व्यक्तिहरू क्रियाशील भएर लागेको पाइन्छ ।

 

मालिकहरूको झगडाको बिचमा एउटा श्रम बेचेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको व्यक्ति परेको हुन्छ । यसो गरिनु किमार्थ उचित होइन । यस्तै, कारण र घटनाका शिकार श्रमजीविहरू भइरहेका छन् । नेपालको पत्रकारिता मालिकमुखी र प्रकाशकमुखी भएको पाइन्छ । सम्पादकीय स्वतन्त्रता र समाचारका सेन्सरसिपलगायतका विषय अनि पक्षधरतासहितको पत्रकारिताको विकास भइरहेको देखिन्छ । असल पत्रकारितामाथि पक्षधरतासहितको पत्रकारिता हाबी हुँदै जान थालेको छ ।

 

उनीहरूमा सञ्चारमाध्यम परिवर्तन गर्नेबित्तिकै विभिन्न समूहसँग मिलेर त्यो सञ्चारमाध्यम यस्तो त्यो उस्तो भन्ने जस्ता लानछाना लगाउने, कुरा काट्नेलगायतका प्रवृत्तिहरू रेखापर्ने गर्दछन् । ती कुराहरू विभिन्न माध्यममा कार्यरत कर्मचारीहरूबाट बाहिर आउने गर्दछ । सम्बन्धित व्यक्तिको कानमा ती कुराहरू जब पुग्दछन् तबसम्म उसलाई राजनीतिक वा आर्थिक रूपमा परेको असरले असामान्य रूप लिने गरेको पाइन्छ । यसरी नेपाली सञ्चारमाध्यम र त्यसमा कार्यरत कर्मचारी, पत्रकारहरूले नियतिको रूपमा विभिन्न समस्याहरू भोग्नुपरेको देखिन्छ । पहिलाको सञ्चार माध्यम, त्यसका सञ्चालकदेखि लिएर अन्य बजार क्षेत्रका बारेमा सबै कुराहरू जब बाहिर आउन थाल्दछन् त्यसपछि वाक युद्धको अवस्थामा परिणत भएको हुन्छ पत्रकारिताभित्रको धर्म, व्यवसायिकता र ईष्र्या ।

पत्रकारिता वास्तवमै बेग्लै पेसा हो र यो पेसामा श्रम गर्नेहरूले मासिक रूपले तलब थाप्ने गर्न सक्छन् त्यसलाई अन्यथा लिनुहुँदैन, उनीहरूले श्रम बेचेर कमाएको पारिश्रमिकलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसार छ या छैन भनेर बरु बहस र छलफल चलाउन सकिन्छ । तर, यहाँ पत्रकारिता पेसा गर्ने व्यक्ति ( पत्रकार) लगानी गर्ने लगानीकर्ताहरूको बीचको भिन्न धर्मलाई संयोजन गर्ने कार्य जसरी भइरहेको छ । त्यही कारणले पनि नेपालमा पत्रकारिताको धर्मले अलि फरक रूप लिँदै जान थालेको होकि भन्ने आभाष हुन थालिसक्यो ।

पत्रकारिता सञ्चार माध्यममार्फत समाजको सकारात्मक परिवर्तनका लागि गरिने धर्म हो उक्त धर्म निर्वाह गर्दाका बखत श्रम खेर गएको हुन्छ त्यही श्रम बेचेर थापिने पारिश्रमिकलाई व्यवसायमा जोडिनु कदापी उपयुक्त हुन सक्दैन । सञ्चारगृहका मालिकले आफ्नो विचारसँग सहमत नहुने वा व्यवसायिकरूपले आपसी टकरावको अवस्थामा रहेका वा रहन सक्ने व्यक्तिको इगोलाई लिएर सञ्चार माध्यममा कार्यरत पत्रकारलाई उपयोग गर्ने र त्यसको भरपुर रूपले समाचार प्रकाशित गरिरहने गर्ने प्रवृत्ति हावी हुन थालेका थुप्रै समाचारहरू बाहिर आउने गरेका छन् । यसरी समाचारहरू बाहिर ल्याउँदा मालिकहरूको झगडाको बीचमा एउटा श्रम बेचेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको व्यक्ति परेको हुन्छ । यसो गरिनु किमार्थ उचित होइन । यस्तै कारण र घटनाका सिकार श्रमजीविहरू भइरहेका छन् । नेपालको पत्रकारिता मालिकमुखी र प्रकाशकमुखी भएको पाइन्छ । सम्पादकीय स्वतन्त्रता र समाचारका सेन्सरसिपलगायतका विषय अनि पक्षधरतासहितको पत्रकारिताको विकास भइरहेको देखिन्छ । असल पत्रकारितामाथि पक्षधरतासहितको पत्रकारिता हावी हुँदै जान थालेको छ ।

नेपाली समाजमा विद्यमान चेतनास्तर, मालिकहरूबाट निर्देशित पत्रकारिता र निरीह अवस्थाको समाचार संयोजनले नै कतै नेपाली पत्रकारिताले आफ्नो धर्मबाट विमुख भइराखेको त छैन भन्ने आशंका पनि उत्तिकै रहेको छ । नेपालमा पछिल्लो समयमा देखा परिरहेका समस्याका कारणहरू कतै पत्रकारहरू नै त होइनन् ? भन्ने भ्रमहरू फैलाउने र प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने तत्वहरू सक्रिय भएको अवस्थामा छ । पत्रकारितामा कतै तथ्य र सत्यबीचको सन्तुलन गुम्दै गएको त होइन ? भन्ने एक थरी समूहहरूले चौक, चौतारा र चिया पसलमा बहस नै चलाएका हुन्छन् । पत्रकारहरूले समाज परिवर्तनका लागि खेलेको भूमिकालाई यहाँ शून्यमा झार्ने दुष्साहस पनि भइरहेको प्रति मिडिया सञ्चालकदेखि लिएर सञ्चारकर्मीहरूले सर्तकता अपनाउन जरुरी देखिन्छ । कुनै एक दुईजना सञ्चारकर्मी वा सञ्चारगृहको दोष सबैमा थुपार्न पाइँदैन ।

सञ्चारजगतले जनताको पक्षमा सञ्चार वकालत गर्दाको अवस्थामा त यस्तो छ भने सञ्चार जगत नभएको अवस्थामा जनताका अधिकारहरूको अवस्था के होला सोचनीय विषय बनेको छ । त्यसकारण नेपाली सञ्चारगृहदेखि लिएर सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले अवको लगानी देश केन्द्रित, समाज केन्द्रित र राष्ट्रियता केन्द्रित बनाएर पेसागत मर्यादालाई कायम गर्दै अघि बढ्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया