धानको न्वारन गर्ने पर्व : हरेलो

स्याङ्जा । कृषि क्षेत्रमा आधुनिकता भित्रिए पनि स्याङ्जामा भने परम्परागत शैलीमा मनाइँदै आएको हरेलो पर्व संरक्षित गरिएको छ । पहाडी क्षेत्रमा भदौ महिनाको पहिलो मंगलबार यो पर्व मनाइन्छ । केही स्थानमा भने अन्तिम मंगलबार पनि यस पर्व मनाइन्छ । भूमि पूजा अर्थात धानको न्वारन गर्ने परम्पराको रूपमा पनि यस पर्वलाई लिन सकिन्छ ।

हरेलो नगरेको धान शुभ कार्य वा धार्मिक कार्यमा अशुद्ध हुने स्थानीय कृषक नन्दलाल सुवेदी बताउँछन् । उनी भन्छन्, ‘जिजुबाजेले यो परम्परा सिकाए हामीले धानेका छौँ, भोलिका सन्तती के गर्छन् थाहा छैन ।’ भदौको पहिलो मंगलबार स्नान गरेर चोखो वस्त्र लगाउने, धूप, ध्जजा, मियाल वा पातीको हाँगा आलीको डिलमा गाड्ने गरिन्छ । अन्न वा गेडागुडीको बिउ भुसमा मिश्रण गरेर मकैको खोस्टामा बाबियोले बाँधेर पोको पार्दै पाती वा मियालको हाँगामा झुन्ड्याइन्छ । उक्त पोकोमा केही समयपश्चात राम्रोसँग अन्न गेडागुडीको बिउ उम्रिएमा त्यो वर्ष धान पनि राम्रो हुने विश्वास जनमानसमा रहिआएको छ । यो परम्परागत शैलीमा हावा पानी र मौसमको अवस्था मापन गर्ने तरिकाको रूपमा लिन सकिन्छ ।

धार्मिक आस्था र महत्व एक ठाउँमा भए पनि यो पर्व मान्ने केही वैज्ञानिक आधार पनि छन् । खेतको आलीमा गर्ने पूजा, धूप धँुवारले किरा फट्याङ्ग्रालाई निर्मुल पार्न जैविक विषादीको काम गरिरहेको हुन्छ ।  यस्ता संस्कार र परम्पराले खेती किसानीको अनुशासनलाई पनि पछ्याइरहेको हुन्छ । पहाडी क्षेत्रमा यो परम्परा संरक्षित भएको भए पनि नयाँ पुस्ताका युवाहरू यो संस्कारलाई व्यवहारमा उतारेको देखिँदैन । कृषि क्षेत्रमा आधुनिकता भित्रिँदा यस्ता संस्कार र परम्परा भने लोपोन्मुख अवस्थामा पुगेको छ । यस्ता परम्पराको संरक्षण गर्न आवश्यक देखिन्छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया