संगीता र संजु बेस्ट लिफ्टर

काठमाडौं । नेपाल स्ट्रंगेस्ट तेस्रो सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा महिलातर्फ बेस्ट लिफ्टरमा सिनियरतर्फ पुलिसकी संगीता राई र जुनियरतर्फ पुलिसकै संजु चौधरी भए । उनीहरूले नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरूले एक हजार नगद प्राप्त गरे । काठमाडांै जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोस्रो दिन क्लिन एन्ड जर्कतर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले आठौँ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् । सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजी र कुलमा १७० केजीका साथ स्वर्ण हात पारिन् ।

दोस्रो स्थानमा रहेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ६० केजी गरी कुल ११५ केजी भार बहन गरिन् । तेस्रो स्थानमा दाङकी कल्पना चौधरी रहिन् । उनले स्नाचमा ४० केजी र क्लिनमा ५० गरि कुल ९० केजी भार बहन गरिन् । ८१ केजी तौलमा पुलिसकी लक्ष्मी बनले तीन राष्ट्रिय कीर्तिमान राखिन् । उनले आठौँ राष्टिय खेलकुदमा राखेको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन् ।

बनले स्नाचमा ६५ केजी र क्लिनमा ८३ केजी गरि कुल १४८ केजी भार बहन गर्दै तीनै विधामा कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६४, ८२ र कुल १८६ केजीको रेकर्ड थियो । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरि कुल १२३ केजीका साथ रजत पाइन् । सिनियरकै ८७ केजी तौलमा पुलिसकी विद्या राईले क्लिन एन्ड जर्कमा ७६ केजीका साथ नयाँ कीर्तिमान कायम गरिन् ।

उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधार गरेकी हुन् । राईले स्नाचमा ५३ केजी र कुलमा १२९ केजी भार बहन गरिन् । उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरि कुलमा ८० केजीका साथ रजत पाइन् । ८७ केजी माथीको तौलमा नेपाली सेनाकी अस्मिता राईले स्नाचमा ५८, क्लिनमा ७० गरी कुल १२८ केजी भारका साथ तीनै विधामा कीर्तिमान राखिन् ।

यसअघि उनले आठौँमा ५३ केजी ६८ केजी र कुलमा १२१ केजीको कीर्तिमान राखेकी थिइन् । नेपाल पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरी कुलमा १२० केजीका साथ रजत पाइन् । सिराहाकी मनिता चौधरीले कांस्य पाइन् । उनले स्नाचमा ४२, क्लिनमा ६० र कुलमा १०२ केजी भार बहन गरिन् । पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश के.सी.ले स्नाचमा १०६ केजी र क्लिन एन्ड जर्कमा १२५ गरी कुल २३१ भारका साथ तीन विधामा राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौँ राष्ट्रिय खेलकुदमा १०३, १२२ र २२५ केजीको कीर्तिमान राखेका थिए ।

विरगञ्ज युनाइटेडका निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घर्तीमगरले ६०, ७१ र कुल १३१ केजीका साथ कांस्य पाए । सिनियरतर्फ नेपाली सेनाका जीवन तामाङले स्नाचमा ८३ केजी, स्नाचमा १०८ गरी कुल १९१ केजीका साथ स्वर्ण, सेनाकै संतोष थपलियाले ८३, १०७ र १९० केजीका साथ रजत तथा कास्कीका धनबहादुर झाँक्रिमगरले ८५, ९८ र १८३ केजीका साथ रजत पाए ।

पुरुषको ७३ केजी जुनियरमा विरगञ्ज युनाइटेडका सजरुद्धिन आलमले स्नाचमा ७३ क्लिनमा ५२ र कुलमा १६५ केजीका साथ स्वर्ण, एपिएफका सुलभ बस्नेतले ७३, ८२ र कुल ८२ केजीका साथ रजत तथा विरगञ्ज युनाइटेडका सुनिलकुमार सर्राफले ३५, ४५ र कुल ८० केजीका साथ कांस्य पाए । सिनियरतर्फ सेनाका यज्ञबहादुर सारुले स्नाचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीका साथ स्वर्ण, सेनाकै हेम नारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ कांस्य पाए ।

पुरुष ८१ केजी तौलमा नेपाल पुलिसका विकाश थापाले तीन कीर्तिमान राखे । उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय कीर्तिमान राखे । उनले आफँैले आठौँ राष्ट्रिय प्रतियोगितामा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै कीर्तिमान राखेका हुन् । उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १३६ केजी भारका साथ कीर्तिमान कायम गरे । उनले कुलमा २५० केजीबाट तौल बढाई २५६ केजीका साथ राष्ट्रिय कीर्तिमान राखे ।

दोस्रो स्थानमा रहेका एपिएफका महेश चौधरीले १०५ केजी स्नाच, १३० केजी क्लिन र २३५ केजीका साथ रजत तथा एपिएफकै सन्तोष चौधरीले ९० स्नाच, १२१ क्लिन र कुल २११ केजीका साथ कांस्य पाए । ८९ केजी तौलमा सेनाका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौँमा राखेको क्लिन एन्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई कीर्तिमान राखेका हुन् ।

कार्कीले स्नाचमा १०५ केजी भार बहन गरे । दोस्रो स्थानमा रहेका पुलिसका ओम प्रकाश वैश्यले स्नाचमा १०५ केजी भारका साथ कीर्तिमान बनाए । वैश्यले १०५ केजी दोस्रो प्रयासमामा उचाल्दै कीर्तिमान बनाएका थिए । कार्कीले तेस्रो प्रयासमा १०५ केजी उचालेता पनि पहिले कीर्तिमान बनिसकेकाले उनले बराबरी मात्र गरे । वैश्यले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले ।

तेस्रो स्थानमा रहेका एपिएफका तिलकबहादुर थापाले स्नाचमा ९०, क्लिनमा १२५ र कुल २१५ भार बहन गरे । जुनियरतर्फ बाँकेका अश्विन सोनीले स्नाचमा ६२, क्लिनमा ६५ गरी कुल १२७ केजी उचाल्दै स्वर्ण जिते । प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरुष गरी ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया