पाँचथरमा डेंगुका बिरामी

पाँचथर । जिल्लामा दुई साता यता डेंगुका बिरामी भेटिएका छन । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा १२ जनामा डेंगुको सक्रमण भेटिएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरले दिएका तथ्यांकअनुसार फिदिम–१ मा चार जना, फिदिम–११ मा एक जना, फिदिम–१२ मा एक जना र फालेलुङ गाउँपालिका–२ मा तीन जना छन् । त्यसैगरी अन्य जिल्लाबाट यहाँ कार्यरत दुई जना कर्मचारीलाई पनि डेंगुको संक्रमण भेटिएको कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए ।

तुम्बापो भन्छन्, ‘जिल्ला अस्पताल पाँचथरमा डेंगु परीक्षण गर्ने किड नहुँदा फिदिमस्थित समर्पित अस्पतालमा परीक्षण गर्दा डेंगु भेटिएको हो । जिल्लामा डेंगु फेला पर्न थालेपछि जिल्ला अस्पतालमा पनि ३० थान किड झिकाइएको छ । अब जिल्ला अस्पतालमा नै परीक्षण हुन्छ ।’

डेंगु देखिएका केहीलाई जिल्ला बाहिर रेफर गरेर उपचार भइरहेको तुम्बापोको भनाइ छ । कहाँ–कहाँबाट आएका हुन् या कहीँ कतै नगई संक्रमण सुरु भएको भन्ने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ । तराइका जिल्लामा व्यापक भएको यो संक्रमण जिल्लामा भेटिएपछि स्वास्थ्य कार्यालयले तथ्यांक संकलन गर्न थालेको हो ।

एक्कासि ज्वरो आउनु, ज्वरो पाँच÷सात दिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कट्कटी दुख्नुलगायत डेंगुका लक्षण भएको तुम्बापोले बताए । यस्तो समस्या देखापरे चाँडो अस्पाताल गएर उपचार गराउन उनले आग्रह गरेका छन् । तुम्बापो भन्छन्, ‘आम नागरिकमा डेंगु संक्रमणका बारेमा गलत धारणा रहेको छ । यो रोग भयंकर डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको छ । यो सामान्य संक्रमण हो । आत्तिनुपर्ने कुनै कारण छैन ।’

प्रतिक्रिया