विभागको नेतृत्वमा ओली–नेपालबीच मतभेद

अन्य विभागमा विवाद कायमै रहे पनि पूर्वएमालेका भागमा परेका मजदुर, युवा र महिला विभागमा समेत तीव्र विवाद देखिन्छ । प्रधानमन्त्रीले मुख्य तीनवटै विभागमा आफूपक्षीय नेताका नाम अगाडि सारेको स्रोतको दाबी छ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभागमा कसलाई नेतृत्व गर्न दिने विषयमा थप विवाद चर्किंदै गएको छ । स्कुल संगठनको विवाद सतहमा आइरहेका वेला युवा लगायतका विभागको नेतृत्वका विषयमा विवाद चर्किएको छ । जसका कारण बुधबारका लागि बोलाइएको सचिवालय बैठक समेत सारिएको छ ।

पार्टी एकतालाई पूर्णता दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार गरेको परामर्श र गृहकार्य निष्कर्षमा पुग्न नसकेपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबारका लागि बोलाइएको बैठक बुधबारका लागि सारिएको थियो तर, सो बैठकमा पनि सहमति नजुट्ने देखिएपछि पुन सारिएको हो । बैठक स्थगित गर्नुअघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भने भएको छ । ‘दुवै अध्यक्षले तयारी नपुगेको बताए । बैठकमा छलफल गरेर निष्कर्ष आउनेभन्दा दुई अध्यक्षले सचिवालयका सदस्यहरूसँग परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउन बैठक स्थगित भएको हो, उहाँहरू गृहकार्यमै हुनुहुन्छ,’ सचिवालयका एक सदस्यले भने ।

दुवै अध्यक्षलाई महासचिव बिष्णु पौडेलले गत सचिवालय बैठकको निर्णयअनुसार नेताहरूको रुचि बुझेर आफ्नो प्रतिवेदन दिइसकेका छन् । अध्यक्ष ओली र प्रचण्डले सोही रुचिअनुसारको प्रतिवेदनमा आधारित भएर सचिवालयमा निर्णायक प्रस्ताव लैजाने अन्तिम तयारी अघि गरिरहेका छन् । ‘एकतालाई पूर्णता दिने निर्णायक प्रस्ताव निर्माणमा दुवै अध्यक्ष लाग्नुभएको छ, त्यसैका लागि दुवै अध्यक्षले पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताहरूसँग समेत छट्टुाछुट्टै परामर्श गर्नुभएको छ,’ सचिवालयका नेताले भने । अन्तिम प्रस्ताव तयारीको क्रममा रहेकै कारण बुधबारको बैठक पनि स्थगित गरिएको हो ।

स्कुल विभागको विवाद कायमै रहेको वेला पूर्वएमालेमा भने विभागका नेतृत्वको विषयलाई लिएर पूर्वएमाले समूहमा विवाद बढ्दै गएको छ । स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले मुख्यरूपमा दाबी गर्दै आएका छन् । अन्य विभागमा विवाद कायमै रहे पनि पूर्वएमालेका भागमा परेका मजदुर, युवा र महिला विभागमा समेत तीव्र विवाद देखिन्छ । प्रधानमन्त्रीले मुख्य तीनवटै विभागमा आफूपक्षीय नेताका नाम अगाडि सारेको स्रोतको दाबी छ । मजदूरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिलामा गोमा देवकोटाको नाम अगाडि सारेको एक नेताले बताए । त्यसमा माधव नेपाल पक्षधरले असहमति राखेको बताइन्छ ।

विवादका कारण गत साउन १३ गतेपछि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । गत वर्षको जेठ ३ गते पार्टी एकता भए पनि अहिलेसम्म सबै केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन भने केन्द्रीय विभाग, निकाय र जनसंगठनको एकताले पनि पूर्णता पाएको छैन । पार्टी एकता घोषणासभामा दुवै अध्यक्षले तीन महिनाभित्र सबै तहको सांगठानिक एकता टुंगो लगाउने घोषणा गरे पनि नेताहरूले व्यक्ति केन्द्रित मुद्दाअघि बढाएर योग्यलाई पाखा लगाउने, आफू निकट अयोग्यलाई स्थान दिने रणनीति लिएपछि एकताले पूर्णता पाउन नसकेको हो । नेकपाका दुवै अध्यक्षदेखि शीर्ष नेताहरूले अन्तिम पटक असार मासन्तभित्र सकाउने घोषणा गरेका थियो । तर, साउन मसान्त पनि त्यत्तिकै टर्ने छाँट देखिएको छ ।

प्रतिक्रिया