हत्यारा अझै पक्राउ परेनन्

दैलेख । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या भएको १५ वर्ष पुगेको छ । तत्कालीन विद्रोही नेकपा माओवादीले ०६१ साउन २७ मा पत्रकार थापाको हत्या गरेको थियो । १५ वर्ष भइसक्दासमेत थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ परेका छैनन् ।

पत्रकार थापाको हत्यामा संलग्न भएका व्यक्तिहरू हालसम्म पनि राजनीतिक संरक्षणमा खुलेआम हिँडिरहेका छन् । पत्रकार थापाको हत्या गरेको भन्दै जिल्ला अदालत दैलेखबाट दोषी ठहर भएका बमबहादुर खड्का ‘मुक्ति’, बमबहादुर खड्का ‘अरुण’, केशव खड्का र भक्तिराम लामिछाने फरार छन् । उनीहरू काठमाडौंमा नेताकै संरक्षणमा रहेको र सार्वजनिक कार्यक्रममा समेत देखिने गरेको नेकपा स्रोतले जनाएको छ । तर, प्रहरीले भने उनीहरू फरार रहेको बताउँदै आएको छ ।

जिल्ला अदालत दैलेखले ०७१ मंसिर २१ मा पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै नौ जनालाई दोषी ठहर गरेको थियो । अदालतको फैसलापछि निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही दुई÷दुई वर्ष, लक्षिराम घर्तीमगर डेढ वर्ष र विरबहादुर केसी एकवर्ष कैद सजाय काटेर जेलमुक्त भइसकेका छन् । फरार रहेका चार जनाको हकमा सम्पत्ति रोक्का गरेर पक्राउ गर्न आदेश दिइएको थियो । फरार भएका नेताकै संरक्षणमा खुलेआम हिँडिरहेको भन्दै पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । जिल्ला अदालत दैलेखले भने फरार रहेका पक्राउ परे मुद्दा अगाडि बढ्ने जनाएको छ ।

तत्कालीन माओवादीले दैलेख बजारमा आपूर्ति हुने खानेपानीको पाइपलाइन काटेर अवरोध पु¥याएपछि वार्ताका लागि गएकै बेला पत्रकार थापा अपहरणमा परेका थिए । त्यसपछि उनलाई विभिन्न ठाउँ घुमाउँदै एक महिनापछि जिल्लाकै द्वारी भन्ने स्थानमा हत्या गरिएको थियो ।

०६५ मा मानवअधिकार आयोगले थापाको शव उत्खनन् गरेपछि कानुनी बाटो खुलेको थियो । १२ भदौ ०६५ मा डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिएकी थिइन् । हत्या गरिएका पत्रकार थापाको परिवारले दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।

स्व. थापाको १५औँ स्मृति दिवसका अवसर पारी सोमबार भएको सभामा पत्रकारहरूले तत्कालीन विद्रोही नेकपा माओवादीले ०६१ साउन २७ मा पत्रकार डेकेन्द्रराज थापाको अपहरण पनि गरिएका हत्याका मुख्य दोषीलाई पक्राउ नगरिएको दैलेखका पत्रकारहरूले गुनासो गरेका छन् । पत्रकार थापाको हत्यामा संलग्न मुख्यव्यक्ति हालसम्म पक्राउ नपरेको भन्दै पत्रकारहरूले आपत्ती जनाएका छन् ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले पत्रकार थापाको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरे । नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले हत्या भएको १५ वर्षसम्म पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नहुनु दुर्भाग्य भएको बताइन् । उनले स्व.पत्रकार थापाको नाममा नारायण नगरपालिकाले स्मृति कोष स्थापना गर्ने घोषणा गरिन् ।

प्रतिक्रिया