पुनर्निर्माणमा जुटेका छौँः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘भिजिट नेपाल २०२०’ लाई मध्यनजर गर्दै सम्पदा पुनर्निर्माणको कामलाई तिव्रता दिएको बताएका छन् । राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्नको अवसरमा आयोजित कार्यक्रममा आज सम्वोधन गर्दै मेयर शाक्यले सो कुरा बताएका हुन् ।

‘यतिबेला काठमाडौँ महानगरपालिकाको ध्यान भिजिट नेपाल २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भने, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिका भित्रका सम्पदा पुनः नर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेका छौँ । यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो ।’

उनले ‘भिजिट नेपाल २०२०’ मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नुपर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाकार भएर अघि बढ्न आग्रह गरे । ‘न्युरोडको पनि केन्द्र भागमा अवस्थित छ,’ उनले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौँ ।

हामी त्यहीअनुसार नै काम गरिरहेका छौँ ।’ उनले अब टेबहालकै घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने बताए । ‘सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुहोस्,’ उनले भने, ‘तपाईँहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न ।’ उनले सम्वोधनकै क्रममा सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव नहुने बताउँदै सबैको सहयोग आवश्यक रहने र महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने बताए ।

काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेश काजी श्रेष्ठलगायतको उपस्थिति रहेको सो कार्यक्रममा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले सम्वोधन गरे । उक्त मन्दिर काठमाडौँ महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो ।

प्रतिक्रिया