पोखरेलको ‘मित्रताको आकाश’

काठमाडौं । प्रगतिशील साहित्यकार तथा कवि मातृका पोखरेलद्वारा लिखित ‘मित्रताको आकाश’ कवितासंग्रह बजारमा आएको छ । सामाजिक, राजनीतिक तथा भुइँमान्छेका विषयमा केन्द्रित रही लेखिएको उक्त कविता संग्रहमा २६ कविता समेटिएका छन् ।

सामाजिक यथार्थवादी विषयमा लामो समयदेखि कलम चलाउँदै आएका पोखरेलले कवितामार्फत समाजको यथार्थ पक्षलाई उद्घाटन गरेको बताए । प्रगतिशील धारमा प्रभावशाली कविता लेख्दै आएका उनले भने, ‘समाज रूपान्तरणमा कला तथा साहित्यको विशिष्ट भूमिका रहन्छ । सीमान्तकृत मानिसका मनोदशालाई मैले कवितामा समेट्ने कोसिस गरेको छु ।’

उक्त संग्रह रामकृष्ण सिर्जना प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको हो । यसअघि पोखरेलका चार कवितासंग्रह र दुई कथासंग्रह प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया