साथी शिक्षा तालिम सम्पन्न

बाँके । किशोर किशोरीहरूमा साथी शिक्षक सीपको विकास गर्नका लागि कोहलपुर–७ हवल्दारपुरमा पाँच दिने साथी शिक्षा तालिम आइतबार सम्पन्न भएको छ ।

त्रिवेणी विकास समाजको आयोजनामा भएको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण तालिममा जानकी गाउँपालिकाका–३, ४ र ६ वडाका १६ जना किशोेर र ६ जना किशोरी गरी २५ जनाको सहभागिता रहेको त्रिवेणी विकास समाज बाँकेका मिश्रीलाल यादवले बताएका छन् ।

उक्त तालिमका सहभागीले प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीप हरेक समुदायका किशोरकिशोरीलाई आवश्यक भएकोले राज्यस्तरबाट नै हरेक समुदायका किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य तथा यौनिकताबारे तालिम सञ्चालन गर्नुपर्ने जोड दिएका छन् ।

तालिममा सहभागी भएका किशोरकिशोरीहरूले प्रजनन स्वास्थ्यकोे ज्ञानले अपरिपक्व रहेको उमेरका युवायुवतीमा परिपक्वता ल्याउने बताएका थिए । महिनावारी र शारीरिक परिवर्तनका वेला किशोरकिशोरीहरूमा उत्पन्न हुने नकारात्मक भावना र हीनताबोध लगायतको समस्याको सामना गर्न सक्षमता प्रदान गरेको सहभागीहरूको भनाइ रहेको थियो ।

साथी शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण, किशोरावस्था, जोखिम, वालविवाह र त्यसका नकारात्मक असरबारे जानकारी गराउने लक्ष्य रहेको यादवले बताए । तालिममा किशोरावस्थाको परिचय, मानव प्रजनन अंगको बनावट, महिनावारीको चक्र, किशोरावस्थासम्बन्धी चलनचल्तीका शब्दहरू, किशोरावस्थामा हुने शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तन तथा त्यसले स्वास्थ्यमा पार्ने असर यौनिकताको परिचय लगायतबारे सहजीकरण गरिएको थियो ।

सहजकर्ता खुसीराम चौधरी, लीला खनाल तथा नीरा गुरुङले पाँच दिनसम्म सहजीकरण गरेको तालिममा यौनिकतासम्बन्धी समाजमा रहेको भ्रम र गलत धारणा, लैंगिकताको सामाजिक बनावट, मूल्यमान्यता र भूमिका, लैंगिकतामा आधारित हिंसा, यौनशोषण र परम्परागत हानिकारक अभ्यासहरूबारे छलफल गरिएको थियो ।

यसैगरी बालअधिकारको परिचय, बालविवाहको अवस्था र समाजमा परिरहेको असर, बालविवाहसम्बन्धी कानुनी प्रावधान, जीवनउपयोगी सीपहरू, अनैच्छिक गर्भधारणको रोकथाम, सुरिक्षत मातृत्व, यौन संक्रमण र त्यसको निराकरणबारे सहजीकरण गरिएको संस्थाका प्रतिनिधि मिश्रीलाल यादवले बताए ।

त्रिवेणी विकास समाज बाँके तथा संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारीमा सञ्चालित सर्वांगीण विकासका लागि महिला तथा बालिका सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको सो तालिममा कार्यकारी व्यवस्थापक सन्तोषकुमार यादव, कार्यक्रम संयोजक पतिराम थारू, कार्यकारी निर्देशक सन्तोष यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया