बेपत्ता यात्रु खोज्दै ५ जिल्लाका प्रहरी

धादिङ । पृथ्वी राजमार्गको बेनिघाट रोराङ–३ स्थित सलाङघाट नजिकै मालिंगामा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता यात्रुहरूको खोजी गर्न ५ जिल्लाका प्रहरी परिचालन गरिएको छ ।

बेपत्ता यात्रुको खोजी प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी बग्ने अन्य ४ जिल्लाका सुरक्षा निकायका अधिकारीसँग समेत समन्वय गरेको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको अगुवाइमा धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासी पुगेर सुरक्षा प्रमुखहरूलाई समेत भेट गरी नदी किनारमा खोजतलास अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेलगायत सुरक्षा प्रमुखहरूसँगको समन्वय बैठकको क्रममा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तहरू समेत सहभागी थिए । बेपत्ता यात्रुहरूमध्ये सर्लाही घर भएका सर्वोच्च अदालतका अधिवक्ता ६२ वर्षीय अवधेस सिंहका भाइ प्राध्यापक मुकेश सिंहले राजमार्गमा बारम्बार भइरहने सडक सुरक्षामा राज्यले प्रभावकारी नीति नअपनाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए ।

अत्यधिक बाढी आएको समय परेकाले बगाएका सामान र शवहरू धेरैजसो नवलपरासीको त्रिवेणी बाँधमा फेला पर्ने भएकाले त्यहाँ कुनै शव फेला परेमा जानकारी गराउन समेत आग्रह गरिएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए ।

आइतबार मात्रै उक्त बाँधको भारततर्फको १७ नम्बर गेटमा शव देखिएपछि सोमबार मात्रै झिक्ने पहलसमेत गरिएको छ । बगाएका सामानहरू तैरिने त्रिशूली नदीका सबै सम्भावित भुमरी परेका विभिन्न स्थानहरूमा प्रहरीको निगरानी पनि बढाइएको बैदरवारले बताए ।

गत शुक्रबार सर्लाहीको मलंगवाबाट चालकसहित ४५ जना यात्रु बोकेर आएको ना ६ ख ७४६९ नम्बरको बस धादिङको मालिंगा सलाङघाटमा दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ । उक्त बसमा अन्य १९ जना यात्रु र केही नाम खुल्न नसकेका काखे बालकहरूसमेत बेपत्ता भएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।

हिँडेर खोज्न सक्ने अवस्था नरहेकाले त्रिशूली किनारमा जलयात्रा गराउने ६ ओटा रिसोर्टहरू पनि सतर्क गराइएको छ । जलयात्रा गराउने क्रममा नदी किनार र भुमरीहरूमा शवहरूको निगरानी गरी तत्काल प्रहरीलाई खबर गर्न निर्देशन दिइएको छ ।

दुर्घटनाका घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा भारत सीतामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलासा नगरपालिका– ४ बस्ने ३२ वर्षीय विजय यादव र सर्लाही हरिहरपुर घर हुने बसचालक ४० वर्षीय जीवन विकको उपचार भइरहेको छ ।

प्रतिक्रिया