विश्वकप छनोटको लागि नेपालको तयारी पूरा

सिंगापुर । सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । मलेसियामा १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पूरा भएको हो । नेपाली टोली शनिबार सिंगापुर आउने कार्यक्रम रहेको छ । नेपालले सिंगापुर आएर २ दिन प्रशिक्षण गर्ने सम्भावना रहेको छ । २२ जुलाई देखि २८ सम्म सिंगापुरमा चल्ने उक्त प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्ने पाउनेछ ।

छनोट प्रतियोगिताको तयारीको रूपमा मलेसियासँगको दुई टी ट्वान्टी आई सिरिज क्लिन स्वीप गरेपनि नेपालले आफ्नो स्तरअनुसार प्रर्दशन गर्न भने सकेन । सिंगापुर र मलेसियाको वातावारण उस्तै रहेकाले नेपालले मलेसियामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले पहिलो खेल २३ जुलाईमा कतारसँग खेल्ने छ । त्यस्तै २४ जुलाईमा मलेसियाको सामना गर्ने छ । २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्ने छ । तुलानात्मकरूपमा कमजोर टोलीमाथि नेपाललाई सहज जितसँगै कीर्तिमान बनाउने राम्रो अवसर छ ।

मलेसियामा प्रशिक्षणको अन्तिम दिन क्रिकेटिङ नेपालसँग बोल्दै कप्तान पारस खड्काले मलेसिया भ्रमण उत्कृष्ट रहेको बताए । ‘अन्य टोलीलाई भन्दा बढी दबाब हामीलाई छ । उत्कृष्ट क्रिकेट खेल्न आवश्यक छ र साथै सबै विपक्षी टोली बराबर छन्’, पारसले भने । पारसले ओपनिङ कसले गर्ने भन्दा पनि टोलीको नतिजा उत्कृष्ट हुनुपर्ने बताए ।

नेपाली टोलीमा पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, पवन सरार्फ, अभिनास बोहोरा, विनोद भण्डारी, करण केसी र ललितनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया