जिम्बावे क्रिकेट निलम्बनमा

एजेन्सी, लन्डन । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । जिम्बावेको क्रिकेट बोर्डमा सरकारले हस्तक्षेप गरेको ठहर गर्दै लन्डनमा बसेको आईसीसी बोर्ड बैठकले आर्थिक सहायता रोक्न र आफ्नो कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बनको निर्णय गरेको हो । यससँगै अगस्टमा हुने महिला टी–२० विश्वकप छनोट र अक्टोबरमा हुने टी–२० विश्वकप छनोट जिम्बावे सहभागी हुने सम्भावना न्यून भएको छ ।

‘हाम्रो सदस्य राष्ट्रलाई निलम्बन गर्ने कुरालाई हामीले हलुका रूपमा लिएका छैनौँ । तर, खेलमा राजनीतिक हस्तक्षेप नहोस भन्ने चहन्छौँ, जुन जिम्बावेमा भयो र उनीहरूले आईसीसीको विधान विपरित काम गरे,’ आईसीसीका प्रमुख शशांक मनोहरले भने । आईसीसीले जिम्बावेको आर्थिक सहायता रोक्नुको मुख्य कारण आफूले दिएको रकमको ठूलो हिस्सा क्रिकेट र खेलाडीको हितमा प्रयोग गर्नुको साटो जिम्बावे सरकारले लगेको हुनसक्ने आईसीसीको बुझाइ छ । जिम्बावे आर्थिक संकटमा छ ।

आईसीसीले जुन मध्यमा चयन भएको जिम्बावे क्रिकेट बोर्डलाई तीन महिनाभित्र कार्यालय स्थापित गर्न भनेको छ । त्यस आधारमा अक्टोवरमा हुने बोर्ड बैठकमा यसबारे थप छलफल हुनेछ । मनोहरले भने, ‘आईसीसी चाहन्छ कि जिम्बावे क्रिकेट आईसीसीको विधानअनुसार चलोस् ।’
गत जुनमा भएको चुनावबाट टाभिङग्वा माख्वलानी पुनः अध्यक्ष चुनिएका छन् । २००४ मा राष्ट्रिय टिम छाडेपछि उनले जिम्बावे क्रिकेटको प्रशासनमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

तर, उनले पुनः अध्यक्ष चुनिएसँगै सरकारी निकाय स्पोटर्स एन्ड रिक्रिएसन कमिसनसँग द्वन्द्व भयो । कमिसनले क्रिकेट बोर्डलाई निलम्बन गर्नुका साथै सबैको कागजपत्र नियन्त्रणमा लियो । लगत्तै आईसीसीले जिम्बावे क्रिकेट बोर्डको खाता रोक्का गरेको थियो । यही कारण जिम्बावेको महिला टिमले आयरल्यान्ड भ्रमण रद्द गर्यो तर, नेदरल्यान्ड्स र आयरल्यान्डको भ्रमणमा निस्किसकेको पुरुष टिम भने पूरा गरेर फर्किएको छ । खेलाडीहरूले यो भ्रमणको म्याच फि र तलब भने नपाएको क्रिकइन्फोले जनाएको छ ।

प्रतिक्रिया