दक्षिण एसियाली शारीरिक सुगठनको तयारी पूरा

काठमाडौं । काठमाडौंमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ एनबीबीएफएले आयोजना गर्न लागेको प्रतियोगितामा बिहीबार प्रतियोगितामा सहभागी सबै देशका खेलाडी काठमाडौं आइपुग्ने तथा शुक्रबार र शनिबार प्रि जजिङ र फाइनल चरणका खेल हुने छन् । प्रतियोगितामा नेपलाबाट २३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ १८ र महिलातर्फ ५ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालकै २ जना अफिसिलय पनि हुनेछन् ।

एनबीबीएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसको तयारी पूरा भएको जानकारी दिँदै प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धा समेत समावेश छ भने जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ ।

प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ । शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ । पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र सो भन्दामाथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा समान एक स्पर्धा हुनेछ । यसैगरी महिला एथ्लेटिक फिजिक्स र महिला मोडलफिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ ।

शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफी समेत बुधबार सार्वजनिक गरिएको छ । विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, एनबीबीएफएका अध्यक्ष श्रेष्ठले उक्त ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको लागि दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई भारतीय रुपैयाँ ७ लाख सहयोग प्रदान गरेको छ । प्रतियोगिताको लागि एक करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया