मलेशियाविरुद्धको क्रिकेट खेलमा नेपालको सानदार जित

काठमाडौँ । मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले सानदार जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो ।

यसअघि नेपालले टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्विप’ गरेको थिएन । आइसिसीबाट टी–ट्वान्टी अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलोपटक युइएविरुद्वको शृङ्खला २–१ ले जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई १७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६७ रनमा समेटिएको थियो ।

मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रनको योगदान दिए भने अमीनुद्वीन रामलीले २४ तथा भिरनदीप सिंह २३ रनमा बाहिरिए । त्यसैगरी मुहम्मद रियाहदत २१, अहमेद फैज १७, शफिक शरिफ १० र अरुवर अरुद्वीन सात रनमा बाहिरिए ।बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने करण केसी, कप्तान पारस खड्का र अविनाश बोहराले एक-एक विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अविजीत रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४०, कप्तान खड्काले २३, रोहितकुमार पौडेलले १९, करण केसीले १६ तथा पवन सर्राफले १० रन जोडे । मलेसियाका मुहमद फिर्टी एक्लैले तीन विकेट लिए ।

आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सिधै सिङ्गापुर प्रस्थान गर्नेछ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एशिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।

उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

प्रतिक्रिया