जनसंख्या बृद्धि असन्तुलित

विश्व जनसंख्या दिवसका अवसरमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दि“दै मुलुक सुखद मार्गतर्फ लम्किरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा जनाएअनुसार प्रजननदर घटाएर जनसंख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति सफल भएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा सुधार आएका कारण पनि जन्मदर घटेको छ । बालिकामाथि हुने लैंगिक विभेदमा कमी आउन थालेको छ, तर छोरी शिशुप्रति गर्भमै वा जन्मि“दै विभेद गर्न थालिएको लक्षण देखिन थालेको छ । जसका कारण शिशु जन्मको लैंगिक अनुपातले भविष्यमा असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुनु जरुरी देखिएको छ ।

विश्वजनसंख्या दिवस मनाउन थालिएको सन् १९८९ देखि ११ जुलाई देखि हो । विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलले जनसंख्या दिवस मनाउने निर्णय गरेको हो । ३० वर्षको यो अवधिमा विश्वको जनसंख्या ७ अर्ब पुगेको अनुमान गरिएको छ । माल्थसको जनसंख्यावृद्धि सिद्धान्त अनुसार नियन्त्रणको कृत्रिम उपाय नअपनाए अथवा कुनै महामारी नभए हरेक २५ वर्षमा दोब्बर हुन्छ । तर, ३० वर्षको यो अवधिमा विश्वको जनसंख्या ४० प्रतिशत मात्रै भएको छ । नियन्त्रणको कृत्रिम उपायकै कारण जनसंख्यावृद्धिदर नियन्त्रणमा आएको हो । त्यतिवेला जनसंख्यावृद्धि विश्वकै ठूलो चुनौती थियो । आधुनिक प्रविधि तथा चेतनाको वृद्धि स“गै यतिवेला यो चुनौती सा“घुरिएको छ । विश्वका थोरै मुलुक मात्रै यो समस्यामा परेका छन् । केही मुलुक त जनसंख्याको वृद्धिदर थारै भएकोमा चिन्तित छन् । यो मामिलामा नेपाल भाग्यमानी मुलुकमा पर्छ । नेपालमा जनसंख्यावृद्धिदर सन्तुलित तथा सन्तोषजनक छ । नेपालको जनसंख्या तीन करोडको हाराहारीमा छ । जसमध्ये ६० प्रतिशतभन्दा बढी भरपुर काम गर्न सक्ने उमेरका छन् । अर्थात २५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या नेपालमा ६० प्रतिशतभन्दा माथि छ । २५ देखि तलको उमेरको जनसंख्या पनि नेपालमा उल्लेख्य छ । ६० वर्ष भन्दा कढी उमेरको जनसंख्याको प्रतिशत विश्वका विकसित मुलुकको दा“जोमा कम छ । औसत आयु ७० वर्ष नाघ्दा पनि जेष्ठ नागरिकहरूको संख्या कम हुनु भनेको विकासमा फड्को मार्ने अवसर हो । हरेक देशमा यस्ता अवसरहरू एक युगमा एकपटक मात्रै आउ“छन् । आज विकसित भनिएका मुलुकहरुमा करिब सय वर्षअघि यस्तै अवसर आएको थियो । अवसरको सदुपयोग गरेकैले उनीहरूले विकासमा फड्को मारेका हुन् । नेपालले पनि यही मौकामा विकासको फड्को मार्नुपर्छ । काम गर्ने उमेर समूहको जनसंख्याले रोजगारीको अवसर पाएन भने विद्रोह हुन्छ । नेपालले पनि १० वर्षसम्म विद्रोहको सामना गरिसकेको छ । वैदेसिक रोजगारी खुलेका कारणले मात्रै नेपालले विस्फोटको दुर्भाग्य बेहोर्नु नपरेको हो ।

ज्ञान, सीप र असल प्रवृतिको विकास गर्न सक्ने हो भने जनसंख्या भनेको मुलुकका लागि सबैभन्दा ठूलो पुँजी हो । तर, यो मामिलामा नेपालले खासै प्रगति गर्न सकेको छैन । करिब ४० लाख नेपाली युवाले मलेसिया तथा खाडी मुलुकहरूमा सस्तो मूल्यमा शारीरिक श्रम बेचिरहेका छन् भने भारतीय तथा बंगलादेशी गरी करिब १० लाखले नेपालमा आएर महंगो मूल्यमा आफ्नो सीप बेचिरहेका छन् । सिकर्मी, डकर्मी, कालिगडी क्षेत्रमा भारतीय तथा बंगलादेशीहरूको बाहुल्यता भइसकेको छ । यसैगरी, विशिष्ट ज्ञान–सीप भएका बौद्धिक नागरिक पनि धमाधम विदेश पलायन भएका छन् । यकीन तथ्यांक नआए पनि विदेश पलायन भएका डाक्टर इन्जिनियरको संख्या उल्लेख्य छ तर नेपालमा यी जनशक्तिको अपुग भइरहेको छ । यसैगरी, बसाइँसराइका कारण गाउँहरू खाली हुँदैछन्, सहरी क्षेत्रमा जनसंख्याको उचित व्यवस्थापन हुन सकिरहेको छैन । नेपालको मुख्य चुनौती बसाइँसराइ पनि हो । विकासका पूर्वाधार निर्माणमा सन्तुलन कायम गर्न नसकिएका कारण बसाइँसराइको समस्या उत्पन्न भएको हो । भएभरका सुविधा राजधानी काठमाडौं तथा तराईको पूर्वपश्चिम राजमार्ग आसपासमा मात्रै केन्द्रित हुँदा यो समस्या उत्पन्न भएको हो । यो मामिलामा सरकारले बेलैमा ठोस गुरुयोजना लागू नगर्ने हो भने भोली भयाबह समस्या उत्पन्न हुनसक्छ । यसैगरी, भारतस“गको खुला सिमानाका कारण भइरहेको जनसंख्या वृद्धिप्रति पनि सरकार गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया