घरेलु टोलीविरुद्ध अस्ट्रेलिया सजग

एजेन्सी, लन्डन । इंग्ल्यान्डले साबिक विजेता अस्ट्रेलियासँग फाइनल प्रवेश लागि बिहीबार प्रतिस्पर्धा गर्दैछ । ९ खेलबाट ६ मा जित निकाल्न सफल इयोन मोर्गानको टोली इंग्ल्यान्ड शीर्ष तेस्रो बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । अस्ट्रेलिया भने दुई खेल अगावै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो ।

आयोजक इंग्ल्यान्ड अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा उच्च मनोबलमा हुनेछ । घरेलु समर्थकको साथ पाउने इंग्ल्यान्ड दबाब रहित रहेर खेल्नेछ । यस्तै अस्ट्रेलिया पनि उपाधि रक्षा गर्ने लक्ष्य सहित जितको खोजीमा मैदान उत्रिनेछ ।  एकदिवसीय विश्वकपमा पुनः उदाउन लागेको इंग्ल्यान्ड २७ वर्ष पछि पहिलो पटक सेमिफाइनमा प्रतिस्पर्धा गर्दा इयोन मोगार्नले टोलीको कप्तानी सम्हाल्दैछन् । ३२ वर्षिय अनुभवी ब्याट्स म्यान घरेलु दर्शकलाई सुखद नतिजा दिलाउने उदेश्य छन् । अस्ट्रेलियन कप्तान एरोन फिन्चको रणनीति विफल पार्ने मोर्गानको लक्ष्य रहेको छ । कठिन प्रतिद्वन्द्वी भारत र न्युजिल्यान्डलाई हराउँदै मनोबल बटुलेको इंग्ल्यान्ड अस्ट्रेलियामाथि पनि जित निकाल्दै इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

छैठौँ पटक सेमिफाइनल पुगेको अस्ट्रेलियालाई रोक्नु इंग्ल्यान्ड टोलीका लािग निकै चुनौति पूर्ण छ । इतिहास हेर्दा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेका सबै संस्करणमा विजेता बन्न सफल भएको छ । त्यसैले अस्ट्रेलिया दबाबरहित रहेर आयोजकविरुद्ध कुनै दबाबमा खेल्नेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले लिग चरणको खेलमा सात खेलमा जित निकालेको थियो भने दुई खेल गुमाएको थियो । यस्तै लिगको खेलमा अस्ट्रेलियाले ६४ रनको जित निकाल्न सफल भएको थियो । दुबै टोली जितको खोजीमा रहँदा कप्तान दबाबमा रहनेछन् । यद्यपि दुबै कप्तान दबाबलाई शक्तिमा बदल्दै प्रतिस्पर्धा गर्नेछन् ।

दुबै टोलीका ओपनर लयमा छन् । यस कारण पनि दुबै टोली ढुक्क छन् । जोनी बेरिस्टो इंग्ल्यान्डका लयमा रहेका खेलाडी हुन भने डेविड वार्नर अस्ट्रेलियन टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । बेरिस्टोले जारी विश्वकपमा दुई सतक प्रहार गरेका छन् । भारतविरुद्ध १ सय ११ रन जोड्दा न्युजिल्यान्डविरुद्ध एक सय रन बनाएका थिए ।

दक्षिण अफ्रिकासँगको टेस्ट खेलमा बल टेम्पिरिङको कारबाही पछि खेलमा फर्किएका वार्नर उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः टोलीमा आफूलाई स्थापित गरेका छन् । वार्नर जारी विश्वकपमा तीन सतक सहित कुल ६ सय ३८ रन जोडेका छन् । दुबै टोलीका तीब्र गतिका बलर मिचेल स्ट्राक र जोफ्रा आर्चरबीचको भिडन्त पनि बिहीबार हुनेछ । स्टार्क अस्ट्रेलियाका मुख्य हतियार हन् । उनले २६ विकेट लिएका छन् । उता २४ वर्षीय आर्चरले भने जारी प्रतियोगितामा १७ विकेट लिएका छन् । उनी सँगै क्रिस ओक्स अस्ट्रेलियन टोलीका लागि टाउको दुखाइको विषय हुनेछ । ओक्स पनि जारी विश्वकपमा उत्कृष्ट लयमा छन् । उनकै बलिङमा लिग चरणको खेलमा मुख्य ब्याट्सम्यान वार्नर, फिन्च र स्टिभ स्मिथ पवेलियन फर्किएका थिए ।

सम्पन्न खेलबाट इंग्ल्यान्डले कुल २ हजार २ सय ५४ रन जोड्दा, अस्ट्रेलियाले कुल २ सय ८४ रन जोडेको छ । यद्यपि अस्ट्रेलियाका ब्याट्सम्यान शीर्ष रन बनाउनेको सूचीको शीर्ष छन् भने इंग्ल्यान्डका खेलाडी सूचीमा छैनन् ।  डेविड वार्नर सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा रहँदा भारतक रोहित शर्मा पहिलो सूचीमा छन् । वार्नरले ६ सय ३८ रन रहेको छ भने रोहित शर्माको ६ सय ४८ रहेको छ ।

यस्तै अस्ट्रेलियन कप्तान एरोन फिन्च ५ सय ७ रनका साथ शीर्ष पाँचमा अटाउँदा जारी विश्वकपका ९ खेलमा ५ सय रन बनाएका जो रुट छैठौँ स्थानमा छन् । इंग्ल्यान्डका वेरिस्टो ४ सय ६२ रनका साथ आठौं स्थानमा रहँदा ३ सय ८१ रन बनाएका बेन स्टोक्स ११ औँ स्थानमा छन् । सम्पन्न लिग चरणका खेलमा इंग्ल्यान्डले ७१ विकेट निकाल्दा अस्ट्रेलियाले ५५ विकेट निकालेको छ ।  विश्वकप क्रिकेट इतिहासमा यी दुई टोली ८ पटक आमने सामने भएका छन् । जसमा अस्ट्रेलियाले सर्वाधिक ६ पटक नतिजा सुखद बनाएको छ भने दुई पटक मात्र इंग्लिस टोलीले आफ्नो पक्षमा पार्न सफल भएको छ ।

प्रतिक्रिया