रौतहट । भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले सहकारीमार्फत हरेक उत्पादनको बजारीकरण गरिनुपर्ने बताएका छन् ।
रौतहटको चन्द्रपुरमा सोमबार आयोजित ‘सहकारी संस्थाहरूसँग समन्वय बैठक’ मा बोल्दै मन्त्री यादवले जीविकोपार्जन र अर्थाेपार्जनमा प्रदेश–२ का आठ जिल्लाका जनताको जीवनस्तरमा सुधार ल्याउनका लागि तीन वटा मुख्य विषय कृषि, पर्यटन र कृषिलाई औद्योगीकरण गर्दै प्रदेश सरकार अगाडि बढेको बताएका छन् । विगतमा परम्परागत तरिकाले गरिँदै आएको कृषिलाई आधुनिकीकरण गर्दै सहकारीमार्फत अगाडि बढाउने हो भने गरिबी निवारणका लागि सहकारीले मुख्य भूमिका खेल्ने मन्त्री यादवले बताए ।
मन्त्री यादवले सहकारीको प्रदेशस्तरीय विधेयक प्रदेश संसद्मा प्रस्तुत गरिसकेकाले अब संसद् सुचारु हुने बित्तिकै विधेयक पारित हुने बताए । मन्त्री यादवले प्रदेश–२ मा झोले सहकारीको पहिचान भइरहेको र त्यस्ता सहकारीलाई कारबाही गर्ने बताए । सहकारीको लामो इतिहास भए पनि हालसम्म सहकारीको आफ्नै कुनै उत्पादन (ब्रान्ड) जनताले उपभोग गर्न नपाउनु दुःखद भएको मन्त्री यादवले बताए ।
जहाँ सहकारी अगाडी बढ्छ, त्यहाँ जनता गरिबीको पीडाबाट मुक्त हुने बताउँदै मन्त्री यादवले प्रदेश–२ का आठ वटै जिल्लाका सहकारीको प्रवद्र्धन गर्न प्रदेश सरकार तत्पर रहेको बताए । समग्र जीविकोपार्जनमा सहकारीको भूमिका मुख्य भएकाले सहकारीमार्फत नै कृषि उत्पादनको बजारीकरण गर्दै आर्थिक क्रान्ती सफल पारिने मन्त्री यादबको जोड थियो ।
कार्यक्रममा गैसस महासंघ रौतहटका अध्यक्ष रामपुकार यादव, सहकारी सञ्चालक र पत्रकारहरूको सहभागिता रहेको थियो ।
राैतहट
प्रतिक्रिया