तनहुँ । व्यास नगरपालिका ५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्याैली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् ।
मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी हुने भएपछि यस खेतीतर्फ बोटे समुदायका मानिसहरु आकर्षित हुँदै गएको स्थानीय कृषक चित्रबहादुर बोटेले बताउछन । खोलामा माछा नपाइने, नदी किनारमा अनियन्त्रित रुपमा खोलिएका क्रसर उद्योगले गर्दा सुन नपाइने जस्ता कारणले परम्परागत पुख्र्यौली पेशा धरापमा पर्दै गएकाले तरकारी खेतीतर्फ लागेका हुन ।
शिक्षा तथा आवश्यक सीप केही नहुँदा लामो समय वैदेशिक रोजागारीमा टिक्न नसकेर सात जना बोटे युवा स्वदेश फर्किएर अहिले तरकारी खेतीतर्फ लागेका छन् । तरकारी खेतीले दैनिकीमा परिवर्तन ल्याएको र आफूले जति मिहेनत गर्न सकियो त्यति नै आम्दानी गर्न सकिने हुँदा बगरको तरकारी खेतीले यहाँका बोटे समुदायको जीवनस्तर माथि उकास्न सहज भएको कृषक चित्रबहादुरको भनाइ छ ।
माछा मार्न र ज्याला मजदूरीमा दौडधुप गर्ने यहाँका बोटे समुदाय चार वर्षदेखि समूहमा आवद्ध भई मादी नदी किनारको बगरमा तरबुजा तथा तरकारी खेती गर्न व्यस्त छन् । मत्स्यजन्य कृषक समूह गठन गरी यहाँका बोटे तथा अन्य समुदायले मादी नदी किनारमा करिब २५ रोपनी क्षेत्रफल बगरमा तरबुजा तथा विभिन्न उन्नत जातका मौसमी, बेमौसीमा तरकारी खेती गर्दै आएका छन् ।
उत्पादित तरकारी बिक्री वितरणका लागि बजारको कुनै समस्या नरहेको उनीहरु बताउँछन् । बोटे तथा अन्य समुदायलाई बगरमा व्यावसायिक तरकारी खेती गर्न आवश्यक प्राविधिक सहयोग, उन्नत जातको बिऊविजन, टनेल निर्माण र सिन्धु कृषि सहकारी संस्थामार्फत तीन लाख ९० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । उक्त कार्यक्रमले समूहमा आवद्ध यहाँका करिब १७ जना महिला दिदीबहिनीको पनि जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका महिलाहरु यतिबेला आफैँले तरकारी उत्पादन गरेर दमौली तथा आसपासका बजारमा लगि बिक्री वितरणबाट राम्रो आम्दानी गर्दै आएको स्थानीय चिजा जोशी बताए ।
प्रतिक्रिया