काठमाडौं । नेपालले एसिसी यु–१९ इस्टर्न रिजनको सेमिफाइनलमा मलेसियासँग खेल्ने भएको छ । समूह चरणको अन्तिम खेलमा मलेसिया हङकङसँग ३ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो । समूह ’बी’ को उपविजेता मलेसियाले समूह ’ए’ को विजेता नेपालसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । किनरारा ओभल मैदानमा भएको खेलमा हङकङले मलेसियलाई ३ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको हङकङले ५० ओभरमा नौ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । उसका लागि अदित गोरावाराले ५० रनको अर्धशतकीय योगदान दिए ।
कालान मार्क चल्लुले ४३ रन, नसरुल्ला रानाले ३० र अरुष भागवतले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ मलेसियाका लागि मोहम्मद आमिर र सचिनु हिटिगेले समान तीनरतीन विकेट लिए भने विजय उन्नीले दुई विकेट हात पारे । १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ दशमलव १ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो ।
मलेसियाका टप अर्डरका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । ४४ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाका लागि मोहम्मद युसुफ र विजय उन्नीले ८७ रनको साझेदारी गर्दै मलेसियालाई खेलमा फर्काएका थिए । विजय उन्नी ३८ रनमा रन आउट भएका थिए ।
त्यसपछि १६३ रन बनाउँदा युसुफ व्यक्तिगत ६३ रनमा आउट भए । १२ बलमा ९ रन चाहिएका बेला मलेसियाले ५ बल बाँकी छँदै सबै विकेट गुमाउन पुग्यो । हङकङका विकास शर्मा र रौनक कपुरले समान तीनरतीन विकेट लिए । सेमिफाइनल खेल सोमबार हुनेछ । जसमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया