रिले अनशन अझै जारी

बुटवल । १६ परिवारको टहरामाथि बुटवल उपमहानगरपालिकाले २३ दिन अगाडि डोजेर चलाएपछि उनीहरू अहिले बिचल्लीमा परेका छन् । बुटवल उपमहानगरपालिका–१ को जामे मस्जिद अगाडि ०२८ सालदेखि बस्दै आएका उनीहरूको टहरामाथि उपमहानगरपालिकाले २४ दिनअघि डोजर चलाएको थियो ।

बुटवल उपमहानगरपालिकाले डोजर लगाएर खाली गराएको क्षेत्रमा २३ दिनदेखि १६ परिबार रिले अनशनमा बसेका छन् । बुटवल–१ जामे मस्जिद अगाडि तत्कालीन श्री ३ बडामहारानीको साविक बिटौरी कित्ता नंं ८३ को दुई कठ्ठा जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरामाथि उपमहानगरले डोजर लगाएर खाली गरेपछि उनीहरू रिले अनशनमा बसेका हुन् ।

बस्ती हटाएर उपमहानगरले कभर्ड हल बनाउन शिलान्यास गरेपछि वृद्धवृद्धा र बालबालिका समेतका १६ परिवारले आफूहरू ४८ वर्षदेखि बस्दै आएको ठाउँमै बसोवास गर्न पाउनुपर्ने माग गर्दै अनसन बसिरहेका छन् । उनीहरूले माग पूरा नभए प्राण नै त्याग गर्नेसमेत बताएका छन् । ‘हामीले न्यायालय नभएको महसुस भएको छ, हाम्रो माग पूरा नभए हामीले यहाँ प्राण त्याग्छौँ’, विस्थापित मध्येका एक विजयकुमार विश्वकर्माले भने ।

घरटहरा हटाएको विषयमा प्रदेश–५ प्रदेशसभामा कुरा उठेपछि प्रदेश मामिला तथा कानुन समितिले स्थलगत अध्ययनसमेत गरेको थियो । समितिका सदस्य भोजप्रसाद श्रेष्ठले विस्थापित परिवारलाई वैकल्पिक प्रबन्ध गर्नुपर्ने र तत्काल राहत उपलब्ध गराउनुपर्ने बताएका थिए । तर, उपमहानगरपालिकाले वैकल्पिक स्थान दिनुको साटो समिति गठन गर्न लागेको छ । नगरसभाले वडा–१४ का वडाध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको भन्दै समितिको प्रतिवेदनअनुसार उपमहानगरपालिका अगाडि बढ्ने बताएको छ ।

‘नगरसभाबाट भर्खर मात्र छानबिन समिति गठन भएको छ, छानबिन समितिले दिएको प्रतिवेदनअनुसार हामी अगाडि बढ्छाँै’, बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष महेन्द्र लिगलले भने । चार सदस्यीय उक्त छानबिन टोलीले यो महिनाभरमा प्रतिवेदन तयार गर्नेछ ।
२३ दिनदेखि रिले अनशनमा बसेका उनीहरूले सामूहिक भोजन गर्दै आएका छन् । रिले अनशन बसेका कारण दैनिक ज्यालादारी गर्नेहरू काम गर्न पाएका छैनन् जसका कारण उनीहरू राहत सामग्री कुरेर अनशनमा बसिरहेका छन् ।

प्रतिक्रिया