चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकोले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे ।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै निधिले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने बताए । उनले कांग्रेसभित्र गुटबन्दी नरहेको पनि बताए । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो ।
‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन’, उपसभापति निधिले भने । सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए । फरक प्रसङ्गमा उनले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताए ।
प्रतिक्रिया