काठमाडौं । ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार भएको खेलमा एपीएफ र फ्रेन्ड्सले ३(३ गोलको बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफका लागि निरज चौधरीले ह्याट्रिक गरे । यस्तै फ्रेन्ड्सका लागि निशान सुब्बाले २ गोल गरे । यस्तै फ्रेन्ड्सका राजन लोप्चनले एक गोल थपे । यो बराबरीसंगै समूह ’बी’ को एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा एपीएफले थ्री स्टार क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो ।
फ्रेन्ड्सको यो पहिलो अंक हो । फ्रेन्ड्सले २ खेलबाट १ अंक जोडेको छ । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया