सीतापुरवासी स्वास्थ्य र डुबानको जोखिम खेप्दै

सिरहा । जिल्लाको लक्ष्मीपुर पतारी–६ स्थित सीतापुरवासी समस्यैसमस्याले चिन्तित बनेका छन् । एकातिर वर्षा नहुँदा खेती गर्न पाएका छैनन् भने एकातिर पानी बढी भएर डुबानको समस्या खेपिरहेका छन् । चैतदेखि नै डुबानको समस्या भोगेका स्थानीय वर्षाको समय नजिकिँदै आएकाले बढी चिन्तित देखिएका छन् ।

लक्ष्मीपुर पतारी–६ सीतापुरका वडाध्यक्ष राजेश्वर साहले बताउँछन्, ‘सुख्खा मौसममा सरस्वती र सलहेश फुलबारीबाट आएको पानीले दुई सय बिघा खेतीलगायत सीतापुर बजार, वडा कार्यालय प्रहरी कार्यालयसमेत डुबानको जोखिममा पर्ने गरेको छ । यसलाई नियन्त्रण गर्न पटकपटक गाउँपालिकाका प्रमुखसँग छलफल गरेँ तर निकास निस्किएको छैन ।’ यसबारे स्थानीयवासीबीच छलफल चलाए पनि पानीको उचित निकास नपाएको वडाध्यक्ष साहले गुनासो गरे ।

पानी निकासी हुने ठाउँमा पोखरी खनिएको, ठाउँठाउँमा बाटो बाँधिएका कारण पानी अवरोध भएर खेतीयोग्य जग्गा र बजारतर्फ पस्ने गरेको छ । यो समस्या सीतापुरमा वर्षौंदेखि भइरहँदा निकासको उपाय खोज्न हालसम्म पहल नभएको अवस्था छ । सरस्वती खोला र सलहेश पूmलबारीबाट निस्किने पानी त्यसक्षेत्रमा पुग्ने गरेको छ । सुक्खा तथा जुनसुकै मौसममा यहाँबाट निस्किएको पानी त्यसक्षेत्रमा अधिकतम समय डुबानमा रहने गरेको छ । यसको निकासका लागि स्थानीयवासी पटकपटक सरोकारवाला निकाससँग माग गर्दै आएको छ ।

यस्तै सीतापुरमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी उपस्थित नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । स्वास्थ्यचौकीमा कर्मचारी स्वास्थ्यकर्मीसहित सात जना कार्यरत छन् । तर, कहिले एक जना त कहिले दुई जना आउने गरेका छन् । यसमा पनि स्वास्थ्यकर्मीहरू स्वास्थ्यचौकीमा नआउँदा बिरामीहरू रित्तो हात फर्किन्छन् । १५ असारमा वडाध्यक्ष राजेश्वर साह र प्रशासकीय अधिकृत लगायतको टोली निरीक्षण गर्न जाँदा स्वास्थ्य चौकीमा एक कर्मचारी र एक अनमी मात्रै रहेको देखियो । वडाध्यक्ष साहले भने, ‘यो अवस्था एक दिनको होइन् । स्वास्थ्यकर्मी कहिलेकाहीँ स्वास्थ्यचौकी आए पनि दुई बजे नै फर्किने गरेका छन् ।’

स्वास्थ्यचौकीमा आएको औषधिसमेत त्यहाँका कर्मचारीहरूले बजारमा बिक्री गर्दै आएका छन् । बिरामीले औषधि नपाएर रित्तो हात फर्किने गरेका छन् । स्थानीय वयोवृद्ध राजलाल यादवले भने, ‘के गर्नु के जाँच गरियो हालसम्म रिर्पोट आएको छैन । औषधि लेखिदिन्छन् एकआध गोटी दिन्छन । यो हेर्नुस् इन्डियाबाट औषधि किनेर खाँदै छु ।’

प्रतिक्रिया