बाजुरा । जिल्लाको स्वामीकात्तिक खापर गाउँपालिकाको चाखुडेथला प्राथमिक विद्यालयमा परीक्षण स्वरूप लगाइएका उच्च घनत्वको स्याउ यसै वर्ष फलेको छ । विद्यालयको क्षेत्रमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको बताइएको छ । गाउँपालिकाले एक वर्षमै फल्ने स्याउको परीक्षण स्वरूप यो वर्ष मनाङबाट ल्याइएका सो स्याउ फल्न थालेका हुन् ।
यसै वर्षको गत चैतमा रोपिएका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका जेटिए निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र गोल्डेन जातको उच्च घनत्वको स्याउ फल्न थालेको हो । लगाइएको तीन जात मध्य गोल्डेन र गाला जातको स्याउ फलेको जेटिए कट्टेलले जानकारी दिए ।
प्रतिबोटको झन्डै ११ सय रुपैयाँ पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुक्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिएर हाल स्वामीकात्तिक खापर गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जनाइएको छ ।
कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो र ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । स्वामीकात्तिक गाउँपालिकामा सो फलपूmल सफल भए आगामी दिनमा थप विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।
त्यस्तै बाजुराको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । स्याउ लगाएको चा महिनामै फलेपछि आगामि दिनमासमेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसानहरू जागरुक भएको जुकोटका कपुरबहादुर शाहीले जनाएका छन् ।
प्रतिक्रिया