पत्रकार सम्मेलनमा महासंघकाे विराेध

स्याङ्जा । वालिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै सहभागी भएनन् । आव ०७६-७७ को नीति कार्यक्रम तथा बजेट सार्वजनिकसम्बन्धी पत्रकार सम्मेलनमा जिल्लाका पत्रकारले सांकेतिक विरोध गरेका छन् ।

वालिङ नगरपालिकाले आगामी आवको छैटौँ नगरसभामा जिल्लामा क्रियाशील उत्कृष्ट पत्रकार सम्मान भन्दै दुई जना पत्रकार, करदाता, सरसफाइ टोल विकास समितिलाई सम्मान गरिएको थियो । उत्कृष्ट पत्रकार सम्मान गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सँग कुनै समन्वय नगरेकोमा नेपाल प्रत्रकार महासंघ स्याङ्जाले ध्यानाकर्षण गर्दै बुधबार नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिति नभई विरोध जनाएका छन् ।

यसै विषयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा क्रियाशील हुँदाहुँदै प्रतिभा छनौट गर्ने विधि र प्रक्रिया नपु¥याई सामाजिक सञ्जालबाट पत्रकार सम्मान भएको कुरा बाहिर आएपछि महासंघद्वारा ध्यानाकर्षण गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाले जनाएको छ ।

‘जिल्लामा क्रियाशील पत्रकार सम्मानित हुँदै गर्दा हाम्रो विरोध होइन, पद्धतीको विरोध गरेका हौँ’, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘सञ्चारकर्मी सम्मान भएको खबर महासंघले सामाजिक सञ्जालबाट थाहा पाउने तर महासंघ बेखबर हुनु आपत्तीजनक हो ।’

उता वालिङ नगरपालिकाले आव ०७६-७७ का लागि ६५ करोड ६७ लाख ५७ हजारको बजेट विनियोजन गरी सार्वजानिक गरिएको थियो । सभाबाट स्वीकृत बजेट बुधबार पत्रकार सम्मेलनमार्फत आमसर्वसाधारणलाई जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको वालिङ नगरपालिका कार्यालयले जनाएको छ । बजेट उपप्रमुखले प्रस्तुत गर्ने प्रावधान उल्लेख गरिएको तर बजेट नगर प्रवक्ता केदार काफ्लेले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया