रौतहट । मनसुन सुरु हुनुभन्दा अगावै बाढीबाट हुने जोखिम व्यवस्थापन गर्न राखेको एक कार्यक्रममा रौतहटका जनप्रतिनिधिको उपस्थिति न्यून भएपछि उनीहरू जनताप्रति जिम्मेवारी नरहेको आरोप लागेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय तह एवं सरोकारवालालाई लक्षित गरी गत महिना सदरमुकाम गौरमा आयोजना गरेको मनसुन पूर्वतयारी कार्यशाला गोष्ठीमा जनप्रतिनिधिकै उपस्थिति न्यून हुँदा उनीहरू जनताप्रति जिम्मेवार नरहेको आरोप लागेको हो ।
वर्षा सुरु भएपछिको बाढी, चैत–वैशाखको हावाहुरी र आगलागी एवं पुस–माघको शीतलहरीले बर्सेनि रौतहटमा मानवीय तथा भौतिक क्षति पु¥याइरहेको छ । यस प्रकारको विपद् व्यवस्थापन गर्न सम्पूर्ण स्थानीय तहको जिम्मेवारी रहेको हुन्छ । कसरी विपद् व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा राखिएको गोष्ठीमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत वडाका प्रतिनिधिसमेतको उपस्थिति हुनुपर्नेमा अधिकांश जनप्रतिनिधि नआएपछि जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल यादवले दुःख व्यक्त गर्दै भने ‘विपद् व्यवस्थापनमा स्थानीय तह उदासीन देखिएको छ ।’
ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले विपद् व्यवस्थापनका लागि गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको मातहतमा गएको दुई वर्षभन्दा बढी भइसक्दा पनि त्यसको व्यवस्थापनप्रति नगरप्रमुखले चासो नलिनु, आफ्नो क्षेत्रमा भएको प्रकोपको उद्धारका लागि अन्यत्रको मुख ताक्नुले जनप्रतिनिधि नागरिकप्रति उत्तरदायी नभएको जिकिर गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख मध्ये राजदेवी नगरपालिकाका मेयर धीरेन्द्रकुमार सिंह र गौर नगरपालिकाका उपमेयर किरणकुमारी ठाकुरको मात्र उपस्थिति रहेको थियो । यस्तै गरुडा नगरपालिकाका प्रशासकीय अधिकृतलगायत इशनाथ र चन्द्रपुर नगरपालिकाका प्रतिनिधि मात्रैको उपस्थिति थियो ।
बाढी प्रभावित क्षेत्र कटहरिया, मौलापुर, माधवनारायण, फतुवाविजयपुर, परोहा, राजपुर, बौधिमाई, गढीमाई, गुजरा, देवाहीगोनाही नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका कोही पनि प्रतिनिधि उपस्थित नरहेको उक्त कार्यक्रममा जिल्ला रेडक्रस, स्वास्थ्य, वन, सुरक्षा निकायलगायत अन्य सरोकारवालाको भने उपस्थिति रहेको थियो ।
सबै स्थानीय तहले स्थानीय तह विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समिति निर्माण गर्नुपर्नेमा अधिकांश स्थानीय तहले सो को कार्यान्वयन नगरेको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामआशिष यादवले बताउँदै भने, ‘स्थानीय तहले विपद् व्यवस्थापनका लागि बजेटसमेत विनियोजन गर्नुपर्ने हुन्छ ।’
ग्रामीण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक विजयसाह बनियाँले प्रकोप पूर्व गर्नुपर्ने पूर्वतयारी, प्रकोप न्यूनीकरण र रोकथाम एवं प्रकोपपश्चात गर्नुपर्ने खोज तथा उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको बारेमा प्रकाश पारेका थिए । यस्तै जिल्लामा सुरक्षा निकायको पूर्वतयारी, रेडक्रसको पूर्वतयारीलगायत अन्य सरोकारवाला संस्थाको पूर्वतयारीको बारेमा जानकारी गराइएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिले केही दिनअघि गरेको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा राजदेवी नगरपालिका कटरवनमा दुई र बसतपुरमा दुई वटा स्पर निर्माण गर्नुपर्ने, दुर्गा भगवती गाउँपालिकाको बडहरवामा च्यानल निर्माण गरी एउटा स्पर निर्माण गर्नुपर्ने, गरुडा नगरपालिकाको लक्ष्मिपुरमा दुई वटा स्पर निर्माण र कटहरिया पुलदेखि उत्तर जंगलसहियासम्मको तटबन्धको उचाइ बढाउनु पर्ने, कटहरिया पुल नजिकको बोल्डर परिमार्जन गरी स्पर बनाउनुपर्ने, मौलापुर नगरपालिकाको मर्यादपुरमा स्पर बनाउनु पर्ने, इशनाथ नगरपालिकाको बन्जराहामा तटबन्ध मर्मत गर्नुपर्ने र गौर नगरपालिकामा तटबन्ध मर्मत गर्नुपर्ने देखिएको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले विपद् व्यवस्थापन गर्न स्थानीय तह, सरोकारवाला, सरकारी वा गैरसरकारी निकाय सबैलाई जिम्मेवारीकासाथ सहकार्य गर्दै अघि बढ्न आग्रह गरे ।
राैतहट
प्रतिक्रिया