काठमाडौं । काठमाडौं जिल्ला अदालत नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली काँग्रेस निकट कानुन व्यावसायीहरूको प्यानल अत्यधिक भारी मतले विजयी भएको छ ।
बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे आफ्ना निकटतम प्रतिद्धन्दी भन्दा झण्डै दश गुणा बढी मत ल्याएर विजयी भएका हुन् । नयाँ नेतृत्वका शनिबार सम्पन्न भएको मतदानमा अध्यक्षका उम्मेदवार घिमिरेले एक हजार तीन मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी निकट प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यले केबल ११० मत मात्र प्राप्त गरेको काठमाडौं बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए । अध्यक्षसहित पूरै प्यानल नै लोकतान्त्रिक समूहका उम्मेदवार अत्यधिक मतका साथ विजयी भएका छन् ।
उपाध्यक्षमा सुवोधबाबु चिलुवाल (९९८ मत), सचिवमा दमनकुमार चन्द (९८९ मत), सहसचिवमा लक्ष्मी सापकोटा (निर्विरोध), कोषाध्यक्षमा विश्वास आचार्य (९६६ मत) विजयी भए । उनिहरुका प्रतिष्पर्धीले १ सय भन्दा केही बढिमात्र मत प्राप्त गरेका छन् । महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्थ निर्विरोध, खुला सदस्यमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजुकुमार अधिकारी, जयबहादुर भुजेल (गणेश), विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा. शिवकुमार यादव र दीपेन्द्र अधिकारी विजयी भएका हुन् । सदस्यले पनि ९ सय भन्दा बढि मत ल्याएका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेकपा भएपछि कुनै पनि क्षेत्रमा यति ठुलो हार व्यहोरेको यो पहिलो पटक हो । नेपालकै सबैभन्दा धेरै दुई हजार ६ सय आठ मतदाता रहेको सो बारमा एक हजार एक सय ९८ मत मात्र खसेको थियो । स्रोतका अनुसार नेकपाका सदस्यले निर्वाचन अघोषित रूपमा बहिष्कार गरेको बुझिएको छ । उम्मेदवार चयनका विषयमा असन्तुष्ट रहेका उनीहरूले मतदान बहिष्कार गरेको र मतदानमा भाग लिएकाले पनि काँग्रेसका उम्मेदवारलाई मतदान गरेको स्रोतले दाबी गरेको छ । लोकतान्त्रिकको पकड रहेपनि यत्ति ठुलो मतान्तर देखिएको हो ।
पूरै प्यानल नै भारी मतसहित विजयी भएपछि डेमोक्रेटिक लयर्स एसोसिएसनका पदाधिकारीहरूले भने खुशीयाली मनाएका छन् । प्रगतिशीलभित्र देखिएको असन्तुष्टिको फाइदा उनीहरूले उठाउन सफल भएको देखिएको छ । मतदानमा एक हजार चार सय १० मत खसेको थिएन । सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) र खुला सदस्य १२ गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया