छ महिनामा ७ बालिकामाथि दुर्व्यवहार

संखुवासभा । जिल्लामा पछिल्लो छ महिनामा सात बालिका यौन दुर्व्यवहारबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक संखुवासभाले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जनवरीदेखि हालसम्म सात बालिकामाथि यौन दुर्व्यवहारको घटना भएको हो ।

ईन्सेकका अनुसार छ महिनाको अवधिमा महिला बलात्कारको घटना तीनवटा भएको छ भने एक महिलालाई बलात्कारको प्रयास गरिएको छ । इन्सेकका अनुसार जनवरीदेखि हालसम्म चारजनाको हत्या, एक हत्या प्रसास र एक बलात्कारका घटना भएका छन् । जिल्लामा छ महिनाको अवधिमा १७ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी गर्दै शनिबार इन्सेकले सो तथ्यांक सार्वजनिक गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामेश्वर पण्डितले ईन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक एउटा दस्तावेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए । उनले ईन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थितिअनुसार इन्सेक अगाडि बढ्नुपर्ने बताए ।

सहभागीहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए । ईन्सेकले प्रत्येक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ भने प्रकाशन पूर्व प्रत्येक वर्षको दुई पटक समीक्षा कार्यक्रम गर्ने गरेको छ ।

प्रतिक्रिया