काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित भएका छन् । पुरस्कारको राशि एक लाख रहेको छ ।
जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. शर्मालाई सम्मान गरेका हुन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहेका प्रा. डा. शर्माले नेपाल, भूटानलगायत दक्षिण एसियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आएका छन् ।
यस्तै अफ्रिकी मुलुक इथोपियाको समेत पानी र जलाधारको क्षेत्रमा अध्ययन गरेका छन् । आफ्नो आमाको प्रेरणाबाट हिमाली क्षेत्रका ताल तलैया, पानी र जलाधारको संरक्षणका क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै उनले काठमाडौँ उपत्यकाको चारैतिर जलाधार संरक्षणका लागि ठूलाठूला पोखरी निर्माण गर्नुपर्ने सुझाव दिए । काठमाडौँका डाँडाडाँडामा पानी पोखरी बनाउनुपर्नेमा रिसोर्ट बनाउन थालिएकामा समेत पुरस्कृत व्यक्तित्व शर्माले दुखेसो व्यक्त गरे ।
उनले भने, ‘आदिमकालमा काठमाडौँको पानी बाहिर पठाउन एउटा मञ्जुश्री आएका थिए । काठमाडौँ उपत्यकामा पानी बढाउन अब पाँच वटा मन्जुश्रीको आवश्यकता देखिएको छ ।’ उक्त पुरस्कारबाट यसअघि डा भगवान् कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसकेका छन् ।
प्रतिक्रिया