काठमाडौं । दुई शक्ति राष्ट्र अमेरिका र चीनविच अहिले व्यापार युद्ध चलिरहेको छ । विश्वमा उदयशक्तिको रूपमा रहेको चीन र विगतदेखि प्रभुत्व जमाउँदै आएको अमेरिकाको त्यो लडाइँ अहिले नेपालमा पनि देखिन थालेको छ ।
पछिल्लो समय नेपालमाथी चीनले निक्कै ठुलो चासो व्यक्त गर्दै आएको छ । राजनीतिकका साथ साथै आर्थिक सहयोगमा पनि चीनले नेपाललाई सहयोग गर्दै आइरहेको छ । अमेरिकाले भने विगत लामो समयदेखी विशेषगरी नेपालका आर्थिक पाटामा सहयोग गरिरहेको छ ।
नेपालको विकासमा आफ्नो मुलुकले गरेको सहयोगका बारेमा विदेशी राजदूतहरूले पछिल्लो समय सामाजिक सञ्जालमा प्रचार गर्न सुरु गरेका छन् । राजदूतले कतिपय अवस्थामा राजनीतिक विषयमा समेत बोलिदिने गर्दा त्यसले दुई देशविचको सम्बन्धमा समेत असर परेको देखिन्छ । विशेषगरी शान्ति प्रक्रिया र संविधान जारी भएको बखतमा विभिन्न देशका राजदूतले नेपालभित्रैबाट त्यसबारेमा विवादास्पद टिप्पणी गरिदिने गरेका छन् । जसले गर्दा कतिपय अवस्थामा सरकार आफैँ त्यसविरुद्ध उभिन्छ त कतिपय अवस्थामा मौन बसिदिने गरेको छ ।
पछिल्लो समय नेपालका लागि अमेरिकी राजदूत र चीनका राजदूतबिच आफ्नो मुलुकले गरेको सहयोगका विषयमा निक्कै आक्रामक शैलीमा प्रचार गरिरहेका छन् । गत कात्र्तिकमा नेपालको राजदूत भएर आएका अमेरिकी राजदूत ¥यान्डी बेरी ट्विटरमा निक्कै सक्रिय राजदूत हुन् । उनी हरेक भ्रमणदेखि अमेरिकाले गरेका सहयोग र आफ्ना दैनिकीसमेत ट्विटरबाट सार्वजनिक गरिरहेका हुन्छन् । अमेरिकी राजदूत बेरीले पदभार सम्हालेदेखि नै खानेपानी, मातृ तथा बालस्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गरिएको सहयोगकाबारेमा फोटो तथा भिडियोसमेत राखेर ट्विट गर्दै आएका छन् ।
अमेरिकी प्रचारको यो चासोप्रति चीनले समेत सिको गरेको देखिन्छ । चीनले आफ्ना देशको कुटनीतिकलाई धेरै सामाजिक सञ्जालमा पहुच नराख्न भन्ने गरेको छ । फेसबुक जस्ता सामाजिक सञ्जाल अहिले चीनमा चल्दैनन् । तर, नेपालकी लागि राजदूत हउ यान्छी भने पछिल्लो समय ट्विटरमा सक्रिय छिन् । उनले केही समय अघि मात्र ट्विटर एकाउन्ट खोलेकी हुन् । उनले पनि नेपालमा चीनले लागनी गरेको आयोजना, सहयोगका विषयमा खुबै प्रचार गरिरहेकी छन् ।
राजदूत बेरीको ट्विटरमा अमेरिकाले नेपाललाई गर्दै आएका सबै सहयोग ऋण नभई अनुदान भएको र अमेरिका नेपालका लागि सबैभन्दा ठूलो दाता भएको उल्लेख गरेका छन् । यता, चिनियाँ राजदूतले भने चीनसँगको सहकार्यले नेपाललाई फाइदा पुगेको सन्देश प्रवाह गरिरहेकी छन् । चिनियाँ राजदूत यान्छीले नेपालमा चिनियाँ सहकार्यबाट निर्माणाधीन हाइड्रोपावर, धानको उन्नत बाली विकासमा चीनसँगको सहकार्यलगायतका विषयमा चर्चा गरेकी छन् ।
राजदूतहरूको सामाजिक सन्जालमा देखिएको सक्रियतालाई चीनको ‘बिआरआई’ र अमेरिकाको ‘इन्डोप्यासेफिक’ रणनीतिको प्रचार–प्रसारकारूपमा समेत लिने गरिएको छ । त्यतिमात्र होइन, हालै एकजना चिनियाँ मूलका अमेरिकी नागरिकलाई नेपाल सरकारले विमानस्थलबाटै फकाइदिएको घटनाका बारेमा पनि अमेरिका र चीनबीच अघोषित वाकयुद्ध सुरू भएको कतिपय कुटनीतिक विश्लेषकहरूको भनाइ छ । नेपालको आन्तरिक तथा अन्य जुनसुकै मामला किन नहोस, विदेशी राजदूत वा नेताबाट आउने टिप्पणीप्रति नेपाल सरकार सजग हुनै पर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया