मोरङ । सुनवर्षी नगरपालिकामा एक मस्जिदमा निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा निसासिएर चार जनाको मृत्यु भएको छ । सुनवर्षी–९ डायनियास्थित मस्जिद परिसरमा निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार ४ जनाको मृत्यु भएको हो ।
मर्कस मस्जिदको कम्पाउन्डमा निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा रहेको काठको सेटिङ्ग खोल्न भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका–९ का ४५ वर्षीय कपिल आलम, २० वर्षीय मो. फिरोज आलम, २५ वर्षीय सहनवाद र २२ वर्षीय मो.ओसिब आलमको मृत्यु भएको हो । उनीहरूसँगै अचेत भएका स्थानीय ४० वर्षीय दाउद मियाँ उपचारपछि घर फर्केको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
उनीहरु पाँचै जना निर्माणाधीन सेफ्टी ट्यांकीको सेटरिङ्ग खोल्ने क्रममा निसासिएर अचेत भएको श्रेष्ठले बताए । उनीहरु सेफ्टी ट्यांकीमा अचेत भएको खबर पाएपछि स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरी रंगेली अस्पतालमा उपचारका लागि ल्याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा ४ जनाको मृत्यु भएको र दाउद बाँच्न सफल भएको श्रेष्ठले बताए । अन्य तीन कामदार सामान्य घाइते भएका थिए ।
प्रतिक्रिया