शैक्षिक गुणस्तरका लागि लगानी बढाउनु पर्ने

बाँके । डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउनका लागि थप लगानी गर्नुपर्ने एक कार्यक्रमका सहभागी शिक्षकहरूले जोड दिएका छन् । निर्वाचनपछि आउने सरकारले शिक्षा क्षेत्रको समस्यालाई पनि समाधान गर्ने आशा राखेको भए पनि गाउँपालिकाकाले सो अनुसार कार्यक्रम ल्याउन सकेको उनीहरूको गुनासो रहेको थियो ।

विद्यालयहरूमा विषयगत शिक्षक राख्नुपर्ने, शौचालय सुधार, स्वच्छ खानेपानी, बिजुली बत्तीदेखि लिएर स्कुल बाउन्ड्री लगायतका काममा हरेक विद्यालयमा बजेट अभाव देखिएकोले गाउँपालिकाले सो अनुसार लगानी गर्नसके विद्यालय र शिक्षामा प्रर्याप्त सुधार आउने उनीहरूको भनाइरहेको थियो ।

शिक्षा क्षेत्रको समस्या र चुनौती राख्ने अवसर नपाएका सरोकारवालाले बुधबार गाउँपालिका नजिकैको एक विद्यालयमा आयोजना गरिएको शिक्षा तथा बालअधिकार बारे अन्तरसंवाद कार्यक्रममा यस्ता कुराहरू सार्वजनिक गरेका हुन् ।

डुडुवा गाउँपालिकाको सहयोगमा तपसी कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको शिक्षा तथा बालअधिकार बारे अन्तरसंवाद कार्यक्रममा बोल्दै आधारभूत बिद्यालयका प्रधानाध्यापक बद्रेआलम खानले गाउँपालिकाको तर्फबाट विद्यालयमा लगानी गरिनुपर्ने माग गरे ।

जनप्रतिनिधि आएको समयदेखि गाउँपालिकाबाट सेवा क्षेत्रमा रहेका विद्यालयहरूमा योजना कार्यक्रम हुन नसकेको समेत कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बताएका थिए । कार्यक्रमका सभापति तथा गाउँपालिका शिक्षा शाखा अधिकृत सञ्जयकुमार कर्णले विगतमा सिकाइ तथा व्यवस्थापनमै समय व्यतित भएकोले आगामी वर्षका लागि शिक्षा क्षेत्रमा प्रर्याप्त बजेट विनियोजन गरिएको जानकारी गराए ।

कार्यक्रममा उठेका सवालहरूलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख कर्णले यसपालीको बजेटमा शिक्षा क्षेत्र विकासका लागि लगभग ८७ लाख विनियोजन भएकोले अब कुनै पनि विद्यालयमा बजेट अभावले शैक्षिक सुधारका लागि बाधा नपुग्ने बताए ।

गाउँपालिकाले अबको बजेटमा बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्यले जन्मिने बित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको उनले जानकारी दिए । उक्त योजनामा गाउँपालिकाले ५ हजार र अभिभावकको ५ हजार गरि १० हजारमा २० वर्षको मुद्दती खाता खोलिनेछ । यसैगरि एसइइ पास भएका किशोरीलाई विशेष प्रोत्साहन प्रदान गरिने शिक्षा शाखा प्रमुख कर्णले बताए । गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यायपन गराइने योजनासमेत यो वर्षको बजेटमा समावेश गरिएको उनको भनाइ रहेको थियो ।

कार्यक्रमममा बोल्दै कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले विद्यालयमा शौचालय नभएको, शौचालय भएको विद्यालयमा मर्मतको अभावमा प्रयोगविहीन रहेको, स्कुलमा बाउन्ड्री नहुँदा असुरक्षित महसुस गरिएको शुद्ध खानेपानी नभएको विद्यालयमा विज्ञान प्रयोगशाला खेलकुद सामग्रीको अभावलगायत समस्या राखेका थिए ।

पत्रकार गुरमुरत यादवले सञ्चालन गरेको कार्यक्रममा सभ्य समाज नेपाल नेपालगञ्जका अध्यक्ष सूर्यलाल यादवले समग्र गाउँपालिकामा शिक्षाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि जनता आधारभूत विद्यालय पिप्रहवाका प्रधानध्यापक शिवप्रसाद सापकोटा र पत्रकारद्वय चन्द्रेश्वरराज त्रिपाठी र राकेश मिश्रले टिप्पणी गरेका थिए ।

गाउँपालिका प्रमुख सायदा बानो खानको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाभित्र भएको १७ वटा सामुदायिक, १० संस्थागत र १४ वटा मदरसाका प्रअ, शिक्षक विद्यार्थी तथा गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका तथा वडा सदस्य, नागरिक समाजका अगुवा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, सञ्चारकर्मीलगायत ९० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया