बैतडी । कुनै समय बैतडीका ग्रामीण भेगहरूमा गैरदलितले कुखुरा, माछा, बंगुरपालन ग¥यो भने देउता रिसाउँछन् भन्ने मान्यता थियो । दलित जातिले मात्र पाल्नुपर्छ गैरदलितले पाल्नु हँुदैन भन्ने परम्परागत सोचलाई युवा पुस्ताले बदलेका छन् । सोच मात्रै बदलेका छैनन् कुखुरा, माछा, बंगुरपालन गरेर आत्मनिर्भरसमेत बनेका छन् ।
यसका एक पात्र हुन् बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तड खौला बजारका २८ वर्षीय हर्कसिंह भण्डारी । भण्डारीले अहिले गाउँमै व्यावसायिक रूपमा कुखुरा र माछापालन गर्दै आएका छन् । झन्डै ५ वर्ष खाडीमुलुक मलेसियामा दुःख गरेर रित्तो हात फर्केका भण्डारी अहिले माछा र कुखुरा व्यवसायबाट मासिक ४० हजार वचत गर्छन् ।
‘विदेशबाट रित्तो हात फर्केपछि मैले गाउँमै केही गर्न सकिन्छ भनेर यो व्यवसाय सुरु गरेँ । यसमा मलाई गाउँपालिकाले पनि सहयोग गरेको छ अहिले राम्रै आम्दानी आइरहेको छ’, भण्डारीले भने । अहिले भण्डारीले आफ्नो परिवारसँगै बसेर मनग्य आम्दानी गर्दा परिवार पनि सन्तुष्टी छन् । घरपरिवार मात्रै नभई गाउँका अरू युवाहरूका प्रेरणाका स्रोत पनि बनेका छन् ।
दोगडाकेदार गाउँपालिकाले मासु र अन्डामा आत्मनिर्भर गाउँपालिका बनाउने उद्देश्यले यस्ता व्यावसायीहरूलाई प्रोत्साहन गर्न आर्थिक सहयोग गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । यसै बजेटअन्तर्गत भण्डारीलाई पनि व्यवसाय गर्न एक लाख आर्थिक सहयोग गरेको गाउँपालिकाले जनाएको छ । अहिले दोगडाकेदार गाउँपालिकाका स्थानीय बजारमा स्थानीय, लोकल जातका कुखुराको मासु र माछा सजिलैसँग पाउन सकिन्छ ।
गत आवमा किसानहरूलाई बोइलर कुखुरा र उन्नत जातका कुखुराका चल्लासमेत वितरण गरेको थियो । यस आवमा पनि मासु निर्यात र अण्डामा आत्मनिर्भर बनाउनका लागि उन्नत जातका बाखा वितरण गर्नलाई नीति तथा कार्यक्रममा पेस गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया