खलंगा । जुम्लाको हिमा गाउँपालिका–४ की ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी हुन थालेको २७ वर्ष बढी भयो । १३ वर्षदेखि महिनावारी सुरु भएकी उनी एक वर्षअघि हरेक महिना महिनावारी हुँदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आएकी थिइन् ।
छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोगेकी उनले धेरै संघ-संस्थाबाट जनचेतना÷क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउ मान्न पनि छोडेकी छन् । सिद्धा शाहीसँग ठ्याकै समस्या मिल्ने अधिकांश महिलाहरूले गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार कार्यले छाउ मान्न छुटाएको दाबी गरेका छन् ।
वाटर-एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालिम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन् । हरेक महिना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउप्रथा मान्ने महिलाको संख्या विस्तारै घट्दै गएको छ ।
‘छाउ हुँदा घरभित्र बसे देवीदेवताले सराप्ने, बोटबिरुवा छोए पाप लाग्ने वा सुक्ने र गाईभँैसीको दूध, दही खान नहुने लगायतका अन्धविश्वासले मेरो स्वास्थ्य निकै कमजोर भयो, अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुध्रिएको छ’, सिद्धा शाहीले भनिन् । आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको उनले बताइन् ।
यता हिमा–३ की २७ वर्षीया सेतु योगीको पनि उस्तै कथा छ । उनले भनिन्, ‘जब समूह र घरमा स्वास्थ्य सवालका कुरा बढ्दै गए, हामीले घरमै सफा कपडाबाट प्याड बनाउन सिक्यौँ, त्यसले छाउ हुँदा प्याड प्रयोग गर्न मात्र होइन, छाउ मान्ने दिन घटाउँदै शून्यमा झ¥यो’, घरमा उपलब्ध सफा कपडाको प्याड बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
महिनावारीका बेला सुक्खा खानेकुरा खाने, प्याड प्रयोग नगर्ने, पातलो ओछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँ महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ भने कतिपयले छाउप्रथाकै कारण अकालमा ज्यान पनि गुमाउनुपरेको छ । परम्परागत रुढीवादी छाउ संस्कार हटाउन स्वयं छाउ मान्ने व्यक्ति र महिनावारी हुने महिला परिवर्तन हुन जरुरी रहेको गाउँपालिका स्वास्थ्य संयोजक क्षेत्र महतले बताए । सबैले महिनावारी हुँदा छाउगोठमा नगएर नियमित सरसफाइ गरी घरभित्र बस्नुपर्ने उनको भनाइ छ ।
गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताइन् । ‘महिनावारी हुने महिलालाई लक्षित गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ, गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुनेछ’, उनले भने । महिला विस्तारै परिवर्तन हुँदै गएको उल्लेख गर्दै रोकायाले कूरीति अन्त्य गर्न अब धेरै समय पर्खिने दिन नभएको, यसमा सबैले साथ दिनुपर्ने बताए ।
प्रतिक्रिया