चरेससहित दुई युवा पक्राउ

सिरहा । युवाहरूमा लागुऔषधको प्रयोग पछिल्लो समय अत्यधिक बढेको छ । त्यसलाई रोकथाम र नियन्त्रण गर्न सिरहा जिल्लाका प्रहरीप्रमुख उमाप्रसाद चतुर्वेदीले विशेष अपरेसनका बारेमा जानकारी दिई व्यापक रूपमा प्रहरी परिचालन गरिँदै आएको बताएका छन् ।

प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी अएपछि छोटो समयमै लागुऔषध कारोबार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कठघरामा उभ्याउन सिरहा प्रहरी सफल देखिएको छ ।

पछिल्लोपटक सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका–७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनगढीमाई नगरपालिका–१० स्थित श्यामपुरबाट जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ बस्ने ३० वर्षीय राम भगत महतो र धनगढीमाई नगरपालिका–१२ बस्ने ३५ वर्षीय रामेश्वर महतो रहेका छन् । उनको साथबाट साढे आठ केजी लागुऔषध चरेस बरामद गरिएको छ । तयारी अवस्थामा रहेको उक्त चरेस भारत तस्करी गर्न राखिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबै महतोमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरी जानकारी दिए ।

प्रतिक्रिया